९ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली सहित सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार १८ मन्त्रीमध्ये महिलामन्त्री थममाया थापा सबैभन्दा गरीब र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ धनी देखिएका छन् ।
महासेठकी श्रीमती एवं सांसद जुली महतोको ३९ करोड रुपैयाँ बराबरको विभिन्न बैंक तथा वित्तीय संस्थामा धितोपत्र, ऋणपत्र र सेयर लगायत मात्रै छ ।
उनीसँग ५२ तोला सुन र डेढ किलो चाँदी छ भने ७२ लाख रुपैयाँ नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । महासेठ र श्रीमतीको नाममा धनुषामा २ र ललितपुरमा एउटा घर छ ।
श्रीमती जुलीकुमारी महतो र उनका नाममा धनुषामा २ र ललितपुरमा एउटा घर रहेको पनि उल्लेख छ ।
त्यस्तै मन्त्री महासेठकी पत्नी महतोको नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ८ विघा, सिन्धुली कमलामाइ नगरपालिकामा ५ कठ्ठा, ललितपुर महानगरपालिका २ नख्खुमा २ रोपनी १३ आना, धनुषाको जनकपुर उपमहानगरपालिकामा ९ कठ्ठा जग्गा रहेको छ । त्यस्तै मन्त्री महासेठको नाममा जनकपुर उपमहानगरपालिकामा १४ कठ्ठा र धनुषाधाम नगरपालिकामा १ विघा १० कठ्ठा जग्गा रहेको छ ।
सम्पत्ति विवरणमा नविल, नेपाल इन्भेष्टमेन्ट, माछापुछ्रे, एनआईसी एशिया र एभरेष्ट बैंकमा खाता रहेको यातायात मन्त्री महासेठले उल्लेख गरेपनि रकम उल्लेख गरिएको छैन ।
त्यस्तै ओली सरकारमा सबैभन्दा गरिब महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापा रहेको देखाईएको छ । उनको नाममा म्याग्दीको बेनीमा आमाले दिएको एउटा घर रहेको छ । त्यस्तै गरगहनामा एक तोला सुन, तीनवटा बैंकमा गरी १५ हजार रुपैयाँ बचत रहेको छ ।
उनको माछापुछ्रे बैंकमा १ हजार, एभरेस्ट बैंकमा ४ हजार र कुमारी बैंकमा १० हजार रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
पर्यटनमन्त्री अधिकारीसँग ६० तोला सुन
ओली सरकारका सुनमा धनी मन्त्री हुन्, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी । सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार उनीसँग ६० तोला सुन र ३० किलो चाँदी छ ।
पोखरा र काठमाडौंमा गरी तीन वटा घर छ भने पोखरामा दुई स्थानमा जग्गा पनि छ । उनीसँग बैंक खातामा साढे २४ लाख रुपैयाँ मौज्दात र २० लाख बराबरको कार छ ।
कृषिमन्त्रीको घरै छैन, लालबाबुसँग साइकल र बादलसँग छिमेकीले दिएको कुकुर
अर्को घरै नभएका मन्त्री हुन् कृषि, भूमिव्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनाल । आफ्नो सम्पत्ति विवरणमा उनले कपिलवस्तुमा तीन ठाउँमा जग्गा भएको उल्लेख गरेपनि घर भने उल्लेख छैन ।
तर, बैंकमा १४ लाख ९६ हजार बैंक मौज्दात छ भने १० लाख ३६ हजार रुपैयाँ मूल्यको सेयर छ ।
यस्तै संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले सवारी साधनका नाममा आफूसँग एक थान पुरानो साइकल रहेको उल्लेख गरेका छन् । तर उनीसँग घर र बैंक ब्यालेन्स भने छ ।
विराटनगर एक कठ्ठामा बनेको ५ कोठे घर र ललितपुर भैसेपाटीमा पत्नी विमलाको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ । उनी र श्रीमतिका नाममा बैंक तथा वित्तीय संस्थामा ५५ लाख रुपैयाँ मौज्दात छ ।
त्यस्तै, गृहमन्त्री रामबहादुर थापाले आफ्नो सम्पत्ति विवरणमा छिमेकीबाट प्राप्त दुई वटा कुकुर पनि उल्लेख गरेका छन् । श्रीमती नैनकला थापाको नाममा चितवनमा घर र जग्गा, ६ तोला सुन र तीन लाख रुपैयाँ नगद भएको उल्लेख गरेका छन् ।
यसअघि पहिलो संविधानसभामा सभासद हुँदा २० हजार बैंकमा मौज्दात रहे पनि हाल निष्क्रिय रहेको उनले खुलाएका छन् । स्वकीय सचिव विरु तामाङको नाममा ६० हजार रहेको सम्पत्ति विवरणमा छ ।
अपर तामाकोशी जलविद्युतमा श्रीमतीका नाममा एक सय ४६ कित्ता सेयर रहेको उनले उल्लेख गरेका छन् ।
यस्तै उर्जामन्त्री वर्षमान पुनको सम्पत्ति विवरणमा रोल्पामा २ वटा २५ वर्ष र ३५ वर्ष पुरानो घर भएको उल्लेख गरेका छन् । उनीसँग १५ तोला सुन र आधा किलो चाँदी पनि छ ।
सात लाख रुपैयाँ नगद र साढे ३ लाख रुपैयाँ बैंक मौज्दात रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवसँग सिरहा र धनुषामा १र१ वटा घर छ । रविकिरण यादव र श्रीमती प्रमिलादेवी यादवका नाममा सिराहा, धनुषा र ललितपुरमा सात स्थानमा जग्गा भएको उनले उल्लेख गरेका छन् । उनीसँग ६ तोला सुन, १० तोला चाँदी र पाँच लाख ५२ हजार रुपैयाँ बैंक मौज्दात छ ।
२ तले पक्की घर र २५ सय किताब भएकादपरराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफुसँग करिब २५ सय पुस्तक रहेको उल्लेख गरेका छन् ।
उनीसँग काठमाडौंमा दुईतले पक्की घर छ भने २ तोला सुन र २ लाख ५७ हजार बैंक मौज्दात रहेको आफ्नो सम्पत्ति विवरणमा खुलाएका छन् । उनीसँग करिब २५ सय पुस्तक छन् भने विभिन्न व्यक्तिसँग रहेको १४ लाख ८५ हजार रुपैयाँ ऋण सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
यस्तै रक्षामन्त्री इश्वर पोखरेलले भने काठमाडौंको टोखामा ३ तले घर, झापा, भक्तपुर र धादिङमा केही जग्गा रहेको उल्लेख गरेका छन् । उनीसँग ८ तोला सुन र २२ तोला चाँदी छ । आफू र श्रीमती मीरा ध्वँजुका नाममा १३ लाख ४० हजार बैंक मौज्दात रहेको र बैंक, जलविद्युत र कलेजमा गरी १५ हजार २ सय कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
त्यस्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफ्नो सम्पत्तिका नाममा खोटाङमा एउटा घर र तीन लाख ८ हजार रुपैयाँ बैंक मौज्दात देखाएका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडासँग ९ लाख ६० हजार बराबरको कार रहेको उल्लेख गरेका छन् । आफू र श्रीमतीका नाममा काठमाडौंमा दुई वटा घर र काठमाडौं, भक्तपुर, दोलखा र झापाका ६ ठाउँमा जग्गा भएको उनले सम्पत्ति विवरणमा जनाएका छन् ।
उनीसँग १० तोला सुन, एक किलो चाँदी र डेढ लाख नगद छ भने विभिन्न बैंक तथा वित्तीय संस्थामा ठूलो सेयर लगानी छ । विभिन्न बैंकमा गरी उनको १ करोड ५१ लाख रुपैयाँ बचत रहेको छ ।
त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग श्रीमती प्रतिमा श्रेष्ठका नाममा काठमाडौंमा एउटा घर र भीमबहादुर विष्टका नाममा गुल्मीमा दुई वटा घर छ । त्यस्तै, ७ तोला सुन तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा सात लाख ३२ हजार नगद मौज्दात र श्रीमतीका नाममा ३ सय १४ कित्ता सेयर रहेको उनले जनाएको छ ।
वनमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा एउटा घर, १५ लाख रुपैयाँ नगद, ५ तोला सुन, १० किलो चाँदी र बैंकमा २ लाख मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले पार्टीको नाममा रहेको एउटा गाडी चढ्ने गरेको पनि सम्पत्ति विवरणमा खुलाएका छन् ।
त्यसैगरी खेलकुद मन्त्री जगतबहादुर सुनारले आफूसँग ५० तोला सुन रहेको उल्लेख गरेका छन् । उनीसँग एउटा घर र केही जग्गा र आफूसहित श्रीमतिका नाममा २० लाख रुपैयाँ बैंक मौज्दात छ ।
कानूनमन्त्री शेरबहादुर तामाङसँग श्रीमतीका नाममा काठमाडौंमा अढाइ तले घर छ । उनीसँग ३० तोला सुन, एक लाख २८ हजार बैंक मौज्दात र श्रीमतीको एउटा कार रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । उनको सिन्धुपाल्चोक, मोरङ र खोटाङमा जग्गा पनि छ ।
खानेपानी मन्त्री बीना मगरसँग चितवनमा पति प्रकाश र सासू सीता दाहालको नाममा तीन कठ्ठा जग्गा र ५ तोला सुन छ ।