काठमाडौं, जेठ ८ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रयोगितामा आजबाट प्लेअफ खेलहरु सुरु हुँदै छन् । लिग चरणमा शीर्ष दुई स्थान हात पारेका सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच आज पहिलो क्वालिफायर खेल हुनेछ ।
खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे मुम्बईमा हुनेछ । लिग चरणमा शीर्ष स्थानमा रहेको हैदरावाद र दोस्रो स्थानमा रहेको चेन्नईले सिधै फाइनल प्रवेशका लागि क्वालिफायर खेल्न लागेका हुन् ।
यो खेलको विजेता टोली फाइनलमा पुग्ने छ भने पराजित हुने टोलीले अर्को एउटा अवसर पाउनेछ । लिग चरणमा तेस्रो स्थान लिएको कोलकाता नाइट राइडर्स र चौथो स्थान लिएको राजस्थान रोयल्सबीच भने भोली प्ले अफको खेल हुनेछ ।
उक्त खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिँदा विजयी हुने टोलीले आज पराजित हुने टोलीसँग हुने दोस्रो क्वालीफायर खेल्ने मौका पाउनेछ । उक्त खेलको विजेता पनि फाइनलमा प्रवेश गर्नेछ ।