एजेन्सी, जेठ ७ ।
स्पेनीस खेलाडी राफेल नाडालले इटालियन ओपन टेनिसको उपाधि हात पारेका छन् । गएराति भएको फाइनल खेलमा जर्मन खेलाडी एलेक्जेन्डर भरेभलाई हराउँदै नाडालले आठौं पटक उपाधि हात पारेका हुन् ।
उपाधिसँगै नाडाल पुनः विश्व बरियताको शीर्ष स्थानमा उक्लने भएका छन् । रोममा भएको फाइनलमा नाडालले भरेभको एक सेटको अग्रतालाई उल्ट्याएका हुन् ।
पहिलो सेटमा भरेभले नाडालेका दुई सर्भिस ब्रेक गर्दै ६ – १ ले जितेका थिए । तर त्यसपछि उत्कृष्ट कमब्याक गरेका नाडालले दोस्रो सेटमा भरेभको तीन सर्भिस ब्रेक गरेर ६ – १ ले आफ्नो पक्षमा पारे ।
तेस्रो तथा अन्तिम सेटमा नाडालले ६ – ३ को जित निकाल्दै उपाधिमा कब्जा जमाएका हुन् । अब नाडाल आगामी आइतबारबाट सुरु हुने फ्रेन्च ओपनमा विश्व बरियताको शीर्ष स्थानमा फर्किनेछन ।
यसअघि मड्रिड ओपनमा डोमिनिच थियमसँग पराजित भएपछि फेडेरर शीर्ष स्थानमा उक्लिएका थिए ।