काठमाडौं, जेठ ५ । प्रतिष्ठित इङ्लिस घरेलु फुटबल प्रतियोगिता एफए कपको फाईनल खेल आज राति हुँदै छ ।
नेपाली समयअनुसार राति १० बजे सुरु हुने खेलमा उपाधीका लागि आज चेल्सीले म्यान्चेष्टर युनाइटेडको सामना गर्दै छ ।
यो सिजनको अन्त्यसँगै स्टामफर्ड्ब्रिज छोड्न लागेका चेल्सी प्रशिक्षक एन्टोनियो कोन्टे अन्तिम खेलमा टोलीलाई च्याम्पियन बनाउँदै बिदा लिने दाउमा छन् ।
हालै सम्पन्न इङ्लिस प्रिमियर लिगमा शीर्ष चारभित्र अटाउन नसकेपछि आगामी च्याम्पियन्स लिगमा स्थान बनाउन नसकेको चेल्सी आज उपाधी जित्दै समर्थकलाई राहत पनि दिन चाहन्छ ।
उता चेल्सीका पूर्व प्रशिक्षक रहिसकेका जोजे मौरिन्होको म्यान्चेष्टर युनाइटेड विजयी लय खोज्न संघर्षरत चेल्सीलाई पराजित गर्दै च्याम्पियन बन्ने योजनामा छ ।
यो सिजनको प्रिमियर लिगमा म्यान्चेष्टर सिटीभन्दा १९ अंकले पछि पर्दै दोस्रो भएको म्यान्चेष्टर युनाइटेडले जित हात पारे सिजनको सुखद अन्त्य हुनेछ ।
सेमिफाइनलमा चेल्सीले साउथह्याम्पटनलाई पारजित गर्दै फाइनलमा स्थान बनाएको हो भने म्यान्यूले टोटनहाम हट्स्परलाई हराउँदै चेल्सीसँगको उपाधी भिडन्त पक्का गरेको थियो ।