मुक्तिनाथमा मोदीले यसरी गरे पूजा (भिडियोसहित)

मुक्तिनाथमा मोदीले यसरी गरे पूजा (भिडियोसहित)

  • शनिबार, बैशाख २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

मुस्ताङ, २९ वैशाख । 

नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभयो ।

भारतीय वायु सेवाको विशेष हेलिकप्टरबाट उहाँ बिहान ७ः५५ मिनेट जाँदा मुक्तिनाथ आउनुभएको थियो । भारतीय प्रम मोदीलाई नेपालको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, ४ नं प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिम मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायतले स्वागत गर्नुभयो ।

पूर्वमन्त्री, सासंद, जनप्रतिनिधि, जिल्लाका सरकारी अधिकारी, सुरक्षा अधिकारी, स्थानीय संघसंस्थाका पदाधिकारी, मुक्तिनाथवासी सर्वसाधारण पनि मोदीको स्वागतमा खटिएका थिए । मन्दिरको मूल प्रवेशद्वारमा प्रवेश गर्नुपूर्व उहाँलाई हिन्दू बटुकले स्वस्ती वाचन र बौद्ध आनी (झुमा) हरुले बौद्ध संस्कृतिमा प्रचलित बाजा (ङेङे) बजाएर स्वागत गरेका थिए ।

मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार उहाँले शोडषोपचार विधिद्वारा पूजा गर्नुभयो । “मोदीले सम्पूर्ण विधि अपनाएर पूजा गर्नुभयो”, उहाँले भन्नुभयो, “अर्चना एवं आरती स्वंले नै गर्नुभएको हो ।”

यत्रो अति विशिष्ट व्यक्तिमा अचम्मको धार्मिक श्रद्धा र विश्वास रहेको उहाँको भनाइ छ ।
स्वागत र सम्मानमा कुनै औपचारिक कार्यक्रम नराखिए पनि विभिन्न नेपाली विशिष्ट व्यक्तित्व र संघसंस्थाले मोदीलाई उपहार प्रदान गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र प्रदेश नं ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले हिन्दू धर्ममा पवित्र मानिने शालिग्राम उपहार प्रदान गर्नुभएको थियो ।

यस्तै मुक्तिनाथस्थित वारागुङ गाउँपालिकाले ताम्रापत्र र भेँडाको उनबाट बनेको गलैँचा उपहार प्रदान गरेको थियो । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले पनि गलैँचा उपहार गर्नुभयो ।

मुक्तिनाथ विकास समिति, स्थानीय आमा समूहलगायत स्थानीय संघसंस्थाले पनि स्थानीय पहिचानका सामग्री उपहार प्रदान गर्नुभएको थियो ।

मन्दिर परिसरमा विभिन्न व्यक्ति एवं संस्थाले उपहार त दिएकै थिए फर्कने क्रममा बाटोमा एक स्थानीयले भोटे गुरुङ समुदायले लगाउने टोपी (छिरिङ किङ्गा) समेत लगाइदिएका थिए ।

मुक्तिनाथ वरपर टलक्क टल्कने हिमालका साथै अन्य रमणीय दृश्य हेरेर रमाएका मोदी स्थानीयले बजाएको (ङेङे) बाजा बजाउँदा स्थानीयवासी निकै दंग देखिन्थे ।

स्थानीयवासीसँग साक्षात्कार गर्नुका साथै भलाकुसारी गरेका मोदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी उहाँको वरपर स्थानीयलाई परपर सारे पनि मोदी आँफै स्थानीयवासीसँग रमाउनुभएको थियो ।

मोदी मुक्तिनाथको भ्रमणमा आउने पहिलो उच्च तहको विदेशी पाहुना हुनुहुन्छ । उहाँको भ्रमणले देश विदेशमा चिनिएको धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथको थप प्रसिद्धि बढ्ने ठानिएको छ । पर्यटन प्रवद्र्धनका अतिरिक्त मुक्तिनाथ क्षेत्रको विकासमासमेत भ्रमणलाई जोडेर हेरिएको छ । भ्रमण नेपाल र भारतबीचको सांस्कृतिक, धार्मिक सम्बन्ध सुदृढीकरणको कडी बन्ने ठानिएको छ ।

विकास, सहयोग आदानप्रदान, सुदृढ मैत्री सम्बन्धजस्ता विषयमा भ्रमण फलदायी हुने मुस्ताङवासीको अपेक्षा छ । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामोले भारतीय प्रम मोदीको मुक्तिनाथ भ्रमणको ऐतिहासिक महत्व रहेको बताउनुभयो ।
भारतीय प्रम मोदीको मुक्तिनाथ भ्रमणले पर्यटन प्रवद्र्धनमा ठूलो महत्व राख्ने नेपाल–भारत मैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचनले बताउनुभयो ।

अन्तर्राष्ट्रिय जगत्मा मुक्तिनाथ क्षेत्रको पहिचान अभिवृद्धि हुने उहाँको भनाइ छ । “मुक्तिनाथको प्रचारप्रसारमा भ्रमणले ठूलो सन्देश दिएको छ”, उहाँले भन्नुभयो, “भ्रमण सफल र फलदायी बनेको छ ।”

 

(प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथमा गरेको पूजा अर्चनाको भिडियो  PMO India बाट लिएका हौं)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी