काठमाडौं, वैशाख १२ ।
गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसपछि वैशाख १३ गते र २९ गते सिन्धुपाल्चोक र दोलखा केन्द्रविन्दु भएर गएका ठूला परकम्पले १४ जिल्लामा ठूलो क्षति र्पुयाएको थियो । भूकम्पमा झण्डै ९ हजार नागरिकको मृत्यु भएको थियो भने लाखौ भौतिक संरचनामा क्षति पुगेको थियो ।
सरकारले भूकम्पपिडितलाई आवास पुर्नर्निमाणका लागि ३ चरणमा ३ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेपनि अहिलेसम्म आधाले पनि त्यो रकम पाउन सकेका छैनन् ।
भूकम्प गएको ३ वर्षमा राष्ट्रिय पुननिर्माण प्राधिकरणमा ४ पटक गरि ३ वटा प्रमुख कार्यकारी अधिकृत परिवर्तन भए पनि पुनर्निर्माणको काम अझैसम्म पनि नसकिएको भन्दै आलोचना हुँदै आएको छ ।
७ लाख ६७ हजार ७ सय ५ घरधुरी ३ लाख रुपैयाँ अनुदान पाउन योग्य भए पनि अहिलेसम्म ७ लाख ९ हजार परिवारसँग मात्रै अनुदान सम्झौता भएको छ । १ लाख ४२ हजार घरको मात्रै पुनर्निर्माण सकिएको छ भने ४ लाख ३८ हजार घर बन्दै गरेका छन् ।
६ लाख १२ हजार ४८ जनाले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएकोमा जम्मा ३ लाख २२ हजारले मात्रै दोस्रो किस्ता पाउनुले पुनर्निर्माणको कामले गति नलिएको प्रष्ट भएको छ । यस्तै घर क्षति भए पनि अनुदान नपाएको भन्दै परेका २ लाख ३७ हजार गुनासोमध्ये २ लाख ५ हजार गुनासोको सम्बोधन भैसकेको छ ।
७ हजार ५ सय शैक्षिक संस्था भत्किएकोमा ३ हजार १ सय वटा निर्माण सम्पन्न भैसकेका छन् । यस्तै भूकम्पमा ११ सय ९७ स्वास्थ्य संस्था भत्किएकोमा ५ सय ८६ वटा मात्रै बनेका छन् । भूकम्पले झण्डै ७ सय ५३ वटा पुरातात्विक सम्पदामा क्षति र्पुयाएकोमा जम्मा १ सय वटा मात्रै सम्पदाको निर्माण सकिएको छ ।
रानीपोखरी, धरहरा, काष्ठमण्डप लगायतमा बहुचर्चित सम्पदाको भने काम नै सुरु भएको छैन । गोरखा भूकम्पको ३ वर्षमा अहिलेसम्म ४ सय ९५ वटा परकम्प गएका छन् ।
पुरातात्विक सम्पदामा लागेको टेको अझै हटेको छैन
भूकम्प गएको तीन बर्ष पुग्दा समेत सो बेला नढलेका तर जीर्ण बनेका कतिपय सम्पदाको टेको पनि अझै हट्न सकेको छैन ।
सरकारी कार्ययोजनामा यी सबै सम्पदा ५ वर्ष्भित्रै सक्ने प्रतिबद्धता रहेपनि पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्ने लक्ष्य भने कागजमै सीमित हुने अवस्था देखिएको छ ।
किनभने महत्वपूर्ण सम्पदा विवाद र अलमलमै रुमल्लिएका छन् । सबैभन्दा बढि विवाद धरहरा, रानीपोखरी र काष्ठमण्डपमा छ ।
काठमाडौं उपत्यकासहित ३० जिल्लाका प्राचीन स्मारक एवं पुरातात्विक सम्पदामा भूकम्पले क्षति गरेको हो ।
भूकम्पले काठमाडौंमा २ सय ५०, ललितपुरमा १ सय ३० र भक्तपुरमा ८० गरी ४ सय ६० सांस्कृतिक सम्पदा भत्किएका थिए ।
विश्व सम्पदा सूचीमा सूचीकृतमध्येका १ सय ४० सम्पदा क्षतिग्रस्त रहेकोमा अहिलेसम्म ३१ वटा सम्पदाको मात्रै पुनर्निर्माणको काम सकिएको छ ।
भक्तपुर दरबारमा ६, चाँगुनारायणमा २, हनुमानढोका दरबारमा ११, स्वयम्भूमा ६, पाटनमा ४, बौद्धनाथमा १, पशुपतिमा १ गरी ३१ सम्पदा सकिएका हुन् ।
विश्व सम्पदा बाहेकका ४८ सम्पदाको पुनर्निर्माण सकिएको पुरातत्व विभागले जनाएको छ ।
विश्व सम्पदा सूची बाहेक काठमाडौंका १७, ललितपुरका ३, भक्तपुरको १, दोलखा र गोरखाको ७÷७ वटा सम्पदा पुनर्निर्माण कार्य सकिएको छ ।
यस्तै काभ्रेको ६, रामेछापको ३, धादिङको २, नुवाकोटको १ र ओखलढुंगाको १ वटा सम्पदा पुनर्निर्माण काम पनि सकिएको छ । अहिले झण्डै ३ सय सम्पदाको पुनर्निर्माण भैरहेको पुरातत्व विभागले जनाएको छ ।
विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार विवाद रहेका सम्पदालाई पनि बनाउन पहल भैरहेको छ ।
उता रानीपोखरीजस्तै विवादमा परेको सम्पदा धरहरा पनि हो । भूकम्पले ढलेको धरहरा नागरिककै सहयोगबाट पुनर्निर्माण गर्ने उदेश्य सहित म बनाउँछु अभियान थालिएको थियो ।
धरहरा पुनर्निर्माण कोषमा झण्डै ९ करोड रुपैयाँ संकलन पनि भएको छ । तर २०७३ साल पुस २९ गते मन्त्रीपरिषद्को निर्णयले धरहराको निर्माण जिम्मा नेपाल टेलिकमलाई दिने निर्णय भएको थियो ।
तर धरहराको डिजाइनका विषयमा कुरा नमिल्दा टेलिकम पछि हट्यो भने धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाएको छ ।
अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष्भित्रै धरहरा पुनर्निर्माण हुने बताउनुभएको थियो । अहिले ओली दोस्रो पटक प्रधानमन्त्री हुनुभएको छ । पहिलो पटक सत्तामा छँदा ओलीले थालेको अभियान भने अलपत्र अवस्थामा छ । ढलेको तीन वर्ष वित्दा पनि धरहरा उठ्न सकेन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसाल धरहरा निर्माण कार्यले अब छिट्टै गति लिने बताउनुहुन्छ ।
अर्को कामै सुरु हुन नसकेको महत्वपूर्ण सम्पदा काष्ठमण्डप पनि हो । जेठ १५ गतेदेखि काष्ठमण्डप पुनर्निर्माणको काम सुरु गर्ने तयारी छ ।
धरहरा, काष्ठमण्डप र रानीपोखरी जस्ता सम्पदामा काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र स्थानीयबासिन्दाको विवादले काम हुन नसकेको हो ।
