- बलराम तिमल्सिना
आफ्नै जन्म दिन पारेर
भृकुटीमण्डपको वुर्जुवा मूख्यालयबाट
एकाएक वेपत्ता भए लेनिन
हो साँच्चै वेपत्ता भए लेनिन !
आफ्नो हुर्मत लुटिने थाहा पाएपछि
पूजीवादको बजारबाट
भाग्दै गरेका लेनिनलाई
समाए केही हुल्याए ठिटाहरूले
झ्यानाकुटु पार्दै ल्याए र
झुड्याइदिए देव्रेभित्तामा !
मनमोहनकोभन्दा कम
मदन भण्डारिकोभन्दा कम
सराध्देको सालोजस्तै
तिहारको ज्वाइँजस्तै
खिस्रिक्क पारेर लेनिनलाई
जव झुण्याइयो अपमानसहित
उदण्ड झुण्ड चिच्यायो-
ह्याप्पी वर्थ डे लेनिन ब्रो !
त्यहाँ लेनिनको आत्मा थिएन
थियो त केवल एक उपेक्षित आकृति
मानौ सभा कुनै बजार मेला हो
र लेनिन राखिएका छन् बेच्न !
यसरी बजारमा विक्न नमानेर
लेनिन एकाएक गायव भए
लेनिनका व्यापारीहरू
होहल्ला सके र फर्किए
सहरभरि हल्ला चल्यो –
लेनिन हराए ! लेनिन हराए !
बागबजारमा कसैले ढोका ढक्ढक्यायो
ढोका खुलेपछि
हस्याङफस्याङ गर्दै
असिन पसिन बन्दै
भित्र पसे लेनिन
र भने-” प्लिज साथीहरू
मलाई बेच्नबाट बचाऊ
सुनेको थिएँ तिमीहरूको देशमा
छोरीहरू बेचिन्छन्
आज झण्डै मलाई बेचे !”
एकछिन सन्नाटा छायो
बागबजारको कोठामा
जवाफ आयो –
प्रिय कमरेड !
हामी तपाईलाई बेचिन दिने छैनौं
लेनिन मुसुक्क मुस्कुराए
कोठाका सवैले आत्मगौरव गर्दै
एकै स्वरमा भने-
वैज्ञानिक समाजवाद जिन्दावाद !
एता सहरभरि
लेनिन हराएको खवर
भुसको आगो झैं फैलदै थियो !
२०७५|०१|०९
ढल्को