एकीकृत जाँच चौकीको उद्घाटन 

एकीकृत जाँच चौकीको उद्घाटन 

  • शनिबार, चैत्र २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

नयाँ दिल्ली, २४ चैत ।  भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा वीरगञ्जको एकीकृत जाँच चौकी (आइसिपी)को आज उद्घाटन गर्नुभएको छ । 

हैदरावाद हाउसमा आयोजित विशेष समारोहमा उक्त एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात समितिको संयोजनमा निर्माण भएको उक्त एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो । प्रधानमन्त्री ओलीको भारतको राजकीय भ्रमणको अवसर पारेर एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो । नेपाल र भारत बीचको सम्झौताअनुसार सन् २०११ को जुलाईमा शिलान्यास भई उक्त एकीकृत जाँच चौकीको निर्माण कार्य थालिएको थियो ।

मुआब्जा विवाद, ठेकेदारको लापरबाही, ढुङ्गा, बालुवा जस्ता निर्माण सामग्रीको अभावका कारणले एकीकृत चौकी निर्माणमा ढिलाइ भएको थियो । भारतीय सहयोगमा विराटनगर भैरहवा र नेपालगगञ्जमा पनि त्यस्ता चौकी निर्माण भइरहेका छन् । मुलुकको व्यापार सहजीकरणका लागि सरकारले भन्सार विन्दुलाई आधुनिकीकरण गर्दै र सुख्खा बन्दरगाहमा पूर्वाधार मजबुत बनाउँदै लैजाने योजनाअन्तर्गत उक्त चौकी निर्माण गरिएको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार आइसिपी आजैदेखि सञ्चालनमा आउनेछ । आइसिपी सञ्चालनमा आएपछि सामान आयात र निर्यात गर्दा सीमा नाकामा उद्योगी तथा व्यवसायीले भोग्नुपरेको समस्या समाधान हुने विश्वास लिइएको छ । नेपाल र भारत बीचको व्यापारलाई सहजीकरण गर्न उक्त चौकीले सहयोग पुग्ने अपेक्षा गरिएको छ । दुई देशबीचको व्यापारलाई औपचारिक दायराभित्र ल्याउन महत्वपूर्ण एकीकृत जाँच चौकीको महत्वपूर्ण योगदान रहनेछ । सरकारले वीरगञ्ज महानगरपालिकाको सिर्सिया र अलौमा गरी ३१५ जना जग्गाधनीको ११५ बिगाहा क्षेत्रफल जग्गा अधिग्रहण गरी उपलब्ध गराएको थियो ।

भारत सरकारको रु एक अर्ब ३९ करोड लागतमा एकीकृत जाँच चौकी निर्माण भएको हो । अलौंमा निर्माण भएको उक्त चौकीमा ७३० वर्ग मिटर क्षेत्रफलका पाँच वटा ठूला गोदाम, दुईटा ठूला सेड, कार्यालय सञ्चालन भवन, भन्सार कार्यालयको भवन, कर्मचारीको आवास भवन, उपचार केन्द्र भवन, खाजा तथा खाना घर, बैंक तथा वित्तीय संस्थाको भवन, सुरक्षाकर्मीको भवन, पर्खाललगायत रहेका छन् ।

चौकी सञ्चालनमा आएपछि वीरगञ्जको मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालय त्यही स्थानान्तरण हुनेछ । एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यातकर्ताले कम समयमै सहज रुपमा वस्तु आयात–निर्यात गर्न सक्नेछन् । सवारीको चापका कारण ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने र राजश्व चुहावट पनि रोकिने सरकारको अपेक्षा रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले व्यापार प्रवद्र्धनका लागि एकीकृत जाँच चौकी महत्वपूर्ण कोशेढुंगा भएको संक्षिप्त प्रतिक्रिया दिनुभयो ।
शुक्रबार भारतीय व्यापारीसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीले वीरगञ्जमा एकीकृत जाँच चौकी सञ्चालन आउन लागेको र त्यसले उद्योगी–व्यवसायीलाई फाइदा पुग्ने बताउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी