-अस्मिता दाहाल
हाम्रो सनातन हिन्दु धर्म र संसकारमा रम्नेहरुका लागि कालरात्री, मोहरात्री, शुखरात्री र शिवरात्रीको विशेष महत्व रहेको हुन्छ । यसै सिलसिलामा हरेक बर्ष शिवरात्री पर्व पर्दछ र सो पर्व मनाउन नेपाल सरकारले सार्वजनिक विदा समेत दिने गर्दछ । यस दिन नेपालका मात्र नभई छिमेकी राष्ट्र भारतबाट समेत ठुलो संख्यामा साधुसन्त र भक्तजनहरु भगवान पशुपतिनाथको दर्शन गर्न आउने गर्दछन् । यसको कारण भगवान शिब प्रतिको आस्था र विश्वास नै हो । जुन विश्वासका लागि भक्तजनहरु आस्था बोकेर मन्दिर आउँछन् त्यहि स्थानमा सुखको अनुभूति पाउनुको अलावा दुख साँटेर जानु प¥यो भने त्यो भन्दा नरमाईलो के होला र ।
हरेक साल विगतमा भन्दा अझ राम्रो व्यवस्थापन कार्य गरिने कुरा प्रचारमा आउँछ । यसैको भरमा भक्तहरु बढी विश्वस्त हुदै पावन तिर्थमा आईरहेका हुन्छन् । तर फरक व्यवहारको वातावरण त्यसले अनुभति गर्छ जो साँच्चीकै भक्त भएर पूजा सामग्री सहित दर्शनका लागि त्यस भूमिमा आएका हुन्छन् । यस पालिको शिवरात्रीका दिन पनि भक्तजनहरुको उचित व्यवस्थापन र सुरक्षाका लागि भन्दै पशुपति विकास कोषले विशेष योजना बनाएको कुरा समाचारमा आयो । तर त्यही पूण्य भूमिमा भक्तजनहरु प्रति भएका अपमानजनक दुरव्यवहारका घटना न पत्रकारको आँखामा प¥यो न त पशुपति विकास कोषको नजरमा नै ।
आगन्तुक भक्तजनलाई लाईनमा बसेर भगवानको दर्शन गराउन सहज वातावरण बनाउनका लागि भनेर चार हजार सुरक्षाकर्मी र स्वयमसेवक परिचालन गरेको कुरा समाचारमा आयो । बाहिर जे कुरा आयो भित्र अर्कै थियो । लाईन अति नै अस्त व्यस्त थियो । यति सम्म कि राज्यले वृद्धभत्ता खुवाएका बुढाबुढीलाई पनि अपमान गर्दै लाईनबाट धपाईएको स्पष्टै देखिन्थ्यो । जब म स्वयम ५ घण्टा लाईनमा बसेर दर्शनको लागि मूल गेटमा पुग्दै थिएँ तब थाहा भयो चारै ढोका बन्द गरिएको थियो । यसको जानकारी गराईएन थिएन । केही समय कुर्नुहोस् अनि दर्शन गरेर फर्कनुहोस् पनि भनिएन । बरु सुरक्षा कर्मीले भक्तजनको हातमा रहेको पूजा सामाग्रिहरु धमाधम खोसेर टोकरीमा फाल्दै अपमान जनक शब्दको प्रयोग गरी लखेट्दै घर पठाए । त्यसबाट म पनि अछुतो रहिन । स्वयम सेवकका नाममा विभिन्न झुण्डबाट आएका रमितेहरुले सहयोग होईन उल्टै हामीलाई तथानाम गालीगलोज गर्दै मुख छाडेको सुन्न प¥यो । नागा बाबाहरुले केटी देख्यो कि हात तानेर पैसा माग्दै दुख दिईएको पिरलोमा पशुपतिनाथ मन्दिर भित्रको यो भयावह अवस्था कहिले र कतिसम्म ? के अब शिवरात्रीमा सधै यस्तै पिडाबाट म जस्तै धेरै झक्तजनहरु बिक्षिप्त हुनु पर्ने हो ? होईन भने कि दर्शन गर्न नदिई लखटियो ? किन गयिो चारै ढोका बन्द ? यदि मुल पूजा थियो भने किन लाईनबाट लखेटियो र केही समय कुराएर दर्शन गर्न दिईएन त ?
यि यावद सवालको जवाफ अब कसले दिने हो । किन लगेको पूजा सामाग्री भगवानलाई शिवलाई चढाउन नपाउने, किन फूलपाती नपाउने, किन अपहेलित भएर घर फर्किनु पर्ने वातावरण भयो । यस तर्फ बेलैमा ध्यान पुगोस् र अवका दिनमा यि हर्कत नदोहोरिउन । यि गंभिर विषयमा पशुपति विकास कोषले ध्यान देओस् र दोषि उपर छानविन गरोस् । नागा बाबाहरुलाई पनि उचित स्थानमा राखेर व्यवस्थापन गर्दै भगवान शिवकोजी उपहास हुन नदिई यसको गरिमा बढाउने काम गर्ने पो हो कि ?
(लेखक पशुपति क्याम्पस, चावहिल एम.ए दोस्रो बर्षमा अध्यनरत छिन् )