काठमाडौं, २२ माघ ।
शिक्षा मन्त्रालयले यहि माघ २८ गते विभिन्न विद्यालय तथा शिक्षणसंस्थालाई पुरस्कृत गर्ने भएको छ ।
अदालतमा मुद्दा परेपछि रोकिएको ३८ औं राष्ट्रिय शिक्षा दिवसको कार्यक्रम रिट खारेज भएपछि आगामी आइतबार गरिने तय भएको शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले जानकारी दिनुभयो ।
शिक्षा दिवस भदौ २१ मै मनाउने गरिए पनि, पुरस्कृत विद्यालयहरुको छनौट प्रकृयामा विरोध जनाउँदै प्रसादी एकेडेमीका तर्फबाट विक्रम राईले मुद्दा दायर गर्नुभएको थियो ।
काठमाण्डौंस्थित राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा मुलुकभरका ३० हजार सामुदायिक विद्यालय मध्येबाट ११ , ७ हजार निजी विद्यालयमध्ये ९ गरी उत्कृष्ट २० विद्यालयलाई पुरस्कृत गरिने भएको छ ।
अघिल्ला तीन वर्षका परीक्षामा प्राप्त नतिजा विश्लेषण, परीक्षामा सहभागी विद्यार्थी संख्या तथा तह अनुसार अध्यापन गराइएका विषयका आधार मानेर विद्यालय छनोट गरिएको मन्त्रालयको दाबी छ ।
यसैबीच प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गतका डिप्लोमा संकायका विद्यार्थीले इञ्जिनियरिङ र मेडिकल प्रवेश परीक्षामा उच्चमाध्यमिक शिक्षा परिषद्को विज्ञान संकायका विद्यार्थीका लागि बनाइएको पाठ्यक्रमका आधारमा आफूहरूलाई परीक्षा नलिन माग गरेका छन् ।
फरक क्षमता र संकायबाट आएका विद्यार्थीलाई एउटै पाठ्यक्रम र खुला प्रवेश परीक्षा भर्ना नगरी लिटरल इन्ट्री प्रणाली लागू गर्न उनीहरूले शिक्षा मन्त्रालयलगायत सम्बद्ध निकायमा माग गरेका हुन् ।
सिटिइभिटीअन्तर्गतका डिप्लोमा संकायका विद्यार्थीका तर्फबाट गोरखाका सन्तोष देवकोटाले दिएको ज्ञापनपत्रमा फरकफरक संकायका विद्यार्थीलाई नेपालका हरेक विश्वविद्यालयले आउने शैक्षिकसत्रदेखि लागू हुने गरी शिक्षा नियमावलीमा संशोधन गर्न माग गरिएको छ ।