“हुँडारको सङ्गत”

“हुँडारको सङ्गत”

  • शनिबार, माघ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

 

 

 

 

 

 

 

 

 

 

– अशोक कुँवर ‘नेत्र’

जति खतरनाक हुन्छन् हुँडारहरू
त्यति नै खतरनाक हुन्छ हुँडारको सङ्गत
अघिपछि अघिपछि गर्दै
कहिले आङ सुम्सुम्याउँदै
कहिले कनाउँदै
आत्मीयता देखाउँछन्
विश्वस्त तुल्याउँछन् भन्दै
“आखिर हामी दुबै एकै क्षेत्रमा हुर्कि बढेका प्राणी हौँ
हाम्रो रक्तनशामा रातै रङ्ग बगेको छ
हाम्रो श्वासनलीमा एउटै पर्यावरणको वायु दौडन्छ”
बिछट्टै प्रेमभाव प्रस्तुत गर्छन्
मुखले ठिक्क पार्दै लोलोपोतो गर्छन् ।

जति खतरनाक हुन्छन् हुँडारहरू
त्यति नै खतरनाक हुन्छ हुँडारको सङ्गत
तपाईँको पिँठ थपथपाउँदै
पत्तो नदिई
तपाईँको मलासयबाट आफ्नो हात घुसार्छन्
कहिले काहीँ तपाईँलाई
स्वाभाविक शङ्का पनि लाग्न सक्छ
तिनीहरूका उपर अविश्वासको भावमा तपाईँ
व्यवहारभरि शङ्का पोत्नु हुन्छ
तिनीहरूले विश्वासको पासा फ्याँकेर
मस्तिष्कभरि भरोसा उमार्न सफल बन्दछन् ।

जति खतरनाक हुन्छन् हुँडारहरू
त्यति नै खतरनाक हुन्छ हुँडारको सङ्गत
हुँडारहरूले ओकल्दै शिष्ट अनि शालीन शब्द
“यो त प्रिय मित्रको मलासयमा रहेको
किर्ना टिपि दिएको हो
याद गर
किर्नाको टोकाइको तुलनामा
यो पीडा केही होइन” भन्दै
भ्रामक अभिव्यक्ति दिन्छन्
तपाईँ भ्रममा परेर
पीडा सहन गर्नु पर्नेमा सहमत हुनु हुन्छ ।

जति खतरनाक हुन्छन् हुँडारहरू
त्यति नै खतरनाक हुन्छ हुँडारको सङ्गत
तपाईँ चुप बस्नु हुन्छ
तिनीहरू सक्रिय हुन्छन्
तपाईँ पीडादायक आनन्द लिनु हुन्छ
तिनीहरू परीक्षाको अन्तिम नतिजाको कसरतमा रहन्छन्
तपाईँको कमजोरी तिनहरूको शक्ति हुन्छ
तपाईँ एकोहोरो विश्वासमा घोत्लिनु हुन्छ
तिनीहरू षड्यन्त्रको इन्द्रजाल रचना गर्छन् ।

जति खतरनाक हुन्छन् हुँडारहरू
त्यति नै खतरनाक हुन्छ हुँडारको सङ्गत
हुँडार्छन् तपाईँको पेट
बटारेर हात
छिनाल्छन् र निकाल्छन्
तपाईँको आन्द्राभुँडी
त्यतिन्जेलसम्म तपाईँसँग
पछुतोसिवाय केही बाँकी रहन्न
फगत हुँडारलाई साथ दिएकामा
हुँडारलाई अन्धो भई विश्वास गरेकामा
स्वयम्लाई धिक्कार्नु हुन्छ
र वरण गर्नु हुन्छ
एउटा निरीह र लाचार मृत्यु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी