भारतीय पक्षले गण्डक नहरमा पानी नछाड्दा गहुँखेती प्रभावित

भारतीय पक्षले गण्डक नहरमा पानी नछाड्दा गहुँखेती प्रभावित

  • शुक्रबार, पुस २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

वीरगञ्ज, २१ पुस

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा मध्यतराईका पर्सा, बारा र रौतहट जिल्लाको ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा लगाइने गहुँखेती प्रभावित भएको छ ।

पर्सामा ३९ हजार हेक्टर, बारामा २९ हजार हेक्टर तथा रौतहटमा १५ हजार ५०० हेक्टर क्षेत्रफलमा किसानले गहुँखेती गर्दै आएका छन् ।

साउनको अन्तिम साता आएको अविरल वर्षाका कारण बाढी पहिरोले भारतीय क्षेत्रमा रहेको गण्डक नहरको संरचना क्षतिग्रस्त भएपछि भारतीय पक्षले उक्त संरचना समयमा मर्मतसम्भार गर्न नसक्दा पानी नहरमा छाड्न नसकेकाले यो स्थिति आएको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुअरीका डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले राससलाई बताउनुभयो ।

नेपाल–भारतबीच भएको गण्डक नहर सम्झौताअनुसार भारतीय पक्षले यही पुसको १० गतेभित्र गण्डक नहरमा पानी छोडिसक्नुपर्नेमा क्षतिग्रस्त संरचनाको हालसम्म मर्मतसम्भार नहुँदा अहिलेसम्म नहरमा पानी छोड्न नसक्दा किसानले हालसम्म गहुँखेती लगाउन नसकिएको डिभिजन प्रमुख साहको भनाइ छ ।

यस वर्ष पानीको अभावमा पर्सा, बारा, रौतहट जिल्लामा २५ देखि ३० प्रतिशत गहँुखेती प्रभावित हुने सम्बन्धित जिल्लाका जिल्ला कृषि विकास कार्यालयको भनाइ रहेको छ । गण्डक नहरमा पानी नछोड्दा पर्सा जिल्लामा यस वर्ष ३० प्रतिशत गहुँखेती प्रभावित हुने जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख वीरेन्द्रप्रसाद सिंहाको भनाइ छ । पानीको अभावमा यही स्थिति बारा र रौतहट जिल्लामा समेत रहेको छ ।

गण्डक नहरमा पानी नआएपछि कतिपय ठाउँमा साना सिँचाइबाट किसानले गहुँखेती शुरु गरेको छ । गण्डक नहरबाट पर्सा, बारा तथा रौतहट जिल्लामा ३७ हजार हेक्टर पानी छाड्ने गरिन्छ तर यस वर्ष साउन महिनाको अन्तिम सातामा आएको बाढीबाट भारतीय पक्षतर्फ रहेको नहर करिब १०० किलोमिटर क्षेत्रमा टुटेको र हालसम्म प्रयाप्त मात्रामा मर्मतसम्भार हुन नसक्दा यस्तो अवस्था आएको भारतीय पक्षको भनाइलाई उद्द्धृत गर्दै नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयले बताएको छ ।

सो बाढीले नेपालतर्फ गण्डक नहरमा करिब तीन दर्जन ठाउँमा क्षति पु¥याउँदा रु ७५ करोड बराबरको संरचना क्षतिग्रस्त भए पनि नेपाल पक्षले भत्केको आफ्नो पक्षको संरचना समयमै मर्मतसम्भार गरे पनि भारतीय पक्षले आफ्नोतर्फको संरचना हालसम्म पूर्णरुपमा बनाउन नसक्दा नहरमा पानी छाड्न नसकिएको हो ।

नेपालतर्फ ८१ किमी लामो गण्डक नहरको चार दशकको लामो इतिहासमा पहिलोपल्ट साउन अन्तिम साता आएको बाढीले सर्वाधिकरुपमा नहरमा क्षति पु¥याएको थियो । भारतीय भूमि हुँदै गण्डक नहरको पानी पर्साको जानकी टोलाबाट शुरु भई बारा हुँदै रौतहटको वाग्मती नदीमा मिसिन्छ ।

भारत सरकारले निर्माण गरेको सो नहर सन् २०७६ ताका दुई चरणमा गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नदीमा ८५० क्युसेक पानी छोड्नु पर्ने भए पनि भारतीय पक्षले सम्झौताअनुसारको पानी भने दिन सकेको छैन ।

अन्नको भण्डार मानिने पर्सा, बारा तथा रौतहटमा पानीको अभावमा गहुँखेती प्रभावित भएपछि यस वर्ष गहुँ उत्पादनमा कमी आउने अनुमान कृषि विज्ञहरुको छ । क्षतिग्रस्त भारततर्फको गण्डक नदीमा भारतीय पक्षले चाँडो मर्मतसम्भार गरी पानी छोड्नु पर्नेमा किसानको छ ।

विश्रामपुर गाउँपालिकाको बजेट सार्वजनिक

बारा जिल्लाको कान्छो गाउँपालिकाका रुपमा रहेको विश्रामपुर गाउँपालिकाको प्रथम गाउँसभाले आव २०७४÷७५ का लागि रु २० करोड १० लाख ९८ हजार १३ को आयव्यय बजेट सार्वजनिक गरेको छ ।

वडा नं १ का वडाध्यक्ष हृदयनारायण प्रसादले बुधबार गाउँसभा प्रस्तुत गरेको बजेटमा आयतर्फ नेपाल सरकारबाट वित्तीय समीकरणअन्तर्गत रु १२ करोड ९५ लाख २४ हजार, सशर्त अनुदानमध्ये शिक्षा र पशुतर्फ रु एक करोड ९१ लाख २४ हजार, सीमा क्षेत्र विकास कार्यक्रमतर्फ रु एक कराड ३३ लाख ६० हजार, बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ रु ११ लाख ६१ हजार तथा सामाजिक सुरक्षा भत्तातर्फ रु तीन करोड २० लाख २८ हजार विनियोजन गरेको छ । सो बजेट व्ययतर्फसमेत महत्वकांक्षी रहेको देखिन्छ ।

यसैगरी सोही बजेटमा स्थानीय शासन तथा विकास कार्यक्रमअन्तर्गत रु १० लाख ६० हजार विनियोजन गरेको छ । गाउँपालिकाको अध्यक्ष अमिरीलाल राउतको अध्यक्षतामा सो भेला भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी