भनिन्छ, राजनीति संभावनाको खेल हो । यति मात्र नभै हिजोका दुई परस्पर पानी बाराबारका रुपमा परिचित माओवादी केन्दका नेता प्रचण्ड र नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई पनि खुसियाली नै बनायो । उनिहरुले हातमा हात मिलाएर वाम तालमेलको कार्यगत एकता देखि पार्टी एकिकरण गर्ने भन्दै एउटै मञ्चबाट कसिए । यो खबरले जनतामा त खुसि छायो नै तर राजनीति गर्ने फरक धार भएको नेपाली कांग्रेसमा यस पालाको दशैंले खासै रौनक दिएन ।
नेपाली कांग्रेसका लागि सहयात्री दल माओवादी केन्द्रले चालेको वाम एकता र तालमेलको विषय टाउको दुखाई बन्यो । उसको बुझाईमा यो गठबन्धन सर्वसत्तावादका लागि स्थापित हुने र लोकजातन्त्र संकटमा पर्ने आशय बन्यो । फलस्वरुप लोकतान्त्रिक शक्तिहरुको बठबन्धन बनाउदै चुनाव लड्ने निष्कर्शमा पुग्यो । परिणाम स्वरुप रा.प्र.पा लगायताका शक्तिहरु सरकारमा सामेल भए र दलिय समर्थन फिर्ता नलिएको माओवादी केन्द्रका मन्त्रिहरुलाई विना विभागिय बनाईयो । तर ति मन्त्रीहरु पिडा खपेरै भए पनि पार्टीको निर्णानुसार सरकारबाट हटेनन् यथाबत रहि रहे ।
प्रतिनिधि र प्रदेश सभामा कम्युनिष्टको वाहुल्यता बढाउन वाम गठबन्धन गरिएको कांग्रेसको दावालाई ति दलले ठाडै अस्विकार गरे तापनि वास्तविकता भने आफ्नो पक्षमा परिणाम ल्याउनेमा नै केन्द्रित थियो । भनियो, गठबन्धन कांग्रेसलाई कमजोर पार्न नभै नेपाल र नेपालीको स्वाधिनता रक्षाका लागि हो । तर दोस्रो संविधान सभा निर्वाचन पश्चात नेपाली कांग्रेसले नेकपा एमालेलाई दिएको धोकाको विषय पनि केपि ओलीको नजरबाट चुकेको थिएन । त्यसको बदला स्वरुप संसदको तेस्रो शक्ति माओवादीको साथ उसका लागि आवस्यक थियो । उक्त शक्तिको साथले कांग्रेसको शेखी झर्नेमा एमाले पूर्ण विश्वस्त थियो नै । कारण स्थानिय निर्वाचनले जुन खालको नतिजा र परिघटनाहरु प्रमाणित गराई सकेको थियो । यसलाई शक्ति र अवसरका रुपमा प्रयोग गर्दै अगाडी बढ्दा पार्टी र देशकै हितमा जित हुने सुनिस्चित भएको अनुमान स्वरुप वाम एकताको सवाल अगाडी सारियो । तर ति दुबै दलका नेताले चुनावी परिणाम पछि पार्टी एकिकरण गर्ने भनेर कार्यकर्तामा आस्वस्त तुल्याए ।
लोकतान्त्रिक शक्तिलाई वाम गठबन्धनले आफ्नो अनुकुलको हित नहुने कुरा स्पष्ट थियो । उसलाई यो पनि हेक्का थियो, कि विपिले एकपटक राजा महेन्द्रलाई भनेको कुरा । “सरकार कम्युनिष्टको हातमा सत्ता गयो भने मेरो त गृह जिल्लामा जग्गा छ खेतिपाती गरौला अनि तपाई के गर्नु हुन्छ ? त्यसैले हामी मिलेर अगाडी बढौं ।” यो कथन कांग्रेसका लागि सामन्य रहेन । साँचै अव नेपालमा वाम एकताले पूर्णता पाउँदैछ त भन्ने सवाल पनि उठेकै हो ? तर यो पनि भनियो कि नेपाली कम्युनिष्टले जब परिणाम हातमा पार्न चाहान्छ तब आन्तरिक विवादका कारण त्यसले पूर्णता पाउँदैन, यात उनिहरुलाई फुटाईनछ या लत्याईन्छ । परिघटना जे जस्ता देखिए तापनि नेपाली राजनीतिमा प्रचण्ड र केपी ओलीले बुद्धिचालको पासा हानेकै हुन्, जसबाट नेपाली कांग्रेसका हस्तिहरु चुनावी मैदानमा पानी पिउन पाएनन् । नत कमल थापाले भने झै उनको पाउमा लड्डु नै चढाए ।
वाम सहकार्य हुँदै गर्दा जनआन्दोलनको नाउँमा मारिएका, घाइते पारिएका, बेपत्ता भएका, अपांग भएका र आफ्नै कार्यकर्ता हत्या भएको घटनाको जिम्मा लिने आँट एमालेले पनि गर्नु पर्छ भन्ने आवाज नउठेको होईन । बरु त्यसको हिस्साको बाँडफाँड घटी बढी हुन सक्छ पनि भनेकै हुन् । तर यसलाई चुनावी माहोलका लागि शान्त पारियो । असहमति राख्ने नेता कार्यकर्तालाई कारवाहिको चेतावनी दिईयो । उता हामीले के र कसका लागि हतियार उठाएर लड्यो अनि कस्ता उपलब्धीहरु जनताले पाए भन्ने मानविय संवेदनाहरु पैदा भए । हिजोका यि दुखेका घाउहरुमा एकसाथ मलम लगाउन खोज्ने दलको हातेमालो जनहितका लागि बन्ने आधारहरु देखाउन राजनीतिक दल चुक्न थालेको आभाष गरियो । अनि शसस्त्र आन्दोलनका नाईके प्रचण्ड र बाबुराम नेकपा एमालेमा समाहित हुँदै छ भन्ने भान तिनका कार्यकर्ताहरुको मानस पटलबाट नहराउदा नहराउँदै चुनावी ताजा जनमतबाट त्यो एजेण्डालाई पारित गराईयो । जनताले दिएको यो अवसर रुपान्तरित कम्युनिष्ट पार्टीको निर्माण आवस्यकता महसुस गरिएकै कारणले संभव पनि भयो । तर पार्टी एकिकरणको विषय छायाँमा पर्न थाल्यो ।
के चुनावी परिणामले दुबै पार्टी एकिकरण हुने सम्भाबना टर्दै गएको हो त ? के पहिले भनिए झै सबै वामपन्थी दल एकै ठाउँमा रहने पार्टीको विचार र सिद्धान्त नमिल्दै गएको हो या दलिय अंशबण्डा ? के अब नेपालको इतिहासमा लोकतान्त्रिक शक्ति विलिन भई वामशक्ति हावी हुने निश्चितता भएकै हो त ? सवाल आफैमा नाजायज नहोला । तर नेपालका यि वाम घटकहरु आफैमा यति छिटो कसरी एकतामा बाँधिन सक्लान भन्ने विषय चर्चामा छ । अहिले वाम घटकको आफैमा स्पष्ट बहुमत देखिन्छ । अंक गणितलाई हेर्दा एमाले बाहेक पनि बहुमत देखिन्छ र संघिय सरकार बन्छ । एमालेले माओवादीलाई नलिई कुनै सानो दलको सहयोगमा पनि स्पष्ट सरकार बनाउन सक्छ । यसकारण माधव नेपालकै भनाई अनुसार प्रचण्डको योदान केपी ओलिले बिर्सदा राम्रो हुदैन भन्नुको पछाडी केपी ओली पार्टी अध्यक्ष, संसदिय दलको नेता र प्रधानमन्त्री आफै हुन चाहेको पुष्टि गर्छ । जसलाई माओवादी केन्द्रको बैठकले समेत प्रचण्डलाई खबरदारी गरायो । यदि पार्टी एकिकरण पश्चात पनि सबै भूमिकामा केपी ओली स्वयम हुने ईचछा रहेमा प्रचण्डको भूमिका के हुने ? अनि माओवादी केन्द्रले यि यावत विषय सरासार मानेर जाला र एकिकरणले पूर्णता पाउला । तर यस प्रकारको कार्यमा होमीने संभावना प्राय शुन्य देखिन्छ र संभव पनि छैन । यसै तथ्यलाई आकलन गरेर नेपाली कांग्रेसले प्रचण्डलाई पाँच बर्षका लागि प्रधानमन्त्री बनाउनुका साथै सभामुख र राष्ट्रपति समेत दिने ग्रिन सिंग्नल दियो जुन कुरा भारतिय दुतले समेत राखेको खुलासा स्वयम प्रचण्डले गरे ।
कमजोर र अपरिपक्व राजनीतिक अवस्थामा विदेशिले खेल्न खोज्नु आश्चर्यको विषय होईन । हाम्रो भू–राजनीति, नेताहरुको कार्य शैली, अपरिपक्व कुटनीति अभ्यास आदिले यसलाई झन सरल बनाउदै गएको छ । आफू हुँदा ठिक र नहुँदा त्यहि कुरा बेठिक भन्ने दलका नेताले बेला बेलामा होडबाजीमा चालेको कुटनीतिले अन्तराष्ट्रिय चियो र चासो बढेको कुरा नकार्न मिल्दैन । कहिले पश्चिामा शक्ति त कहिले छिमेकी शक्तिको प्रभावको दब्दबाबाट नेपाली राजनीति मुक्ति हुन नसकेको कुरा पनि साँचो हो । राजनीतिक तरलतामा भारत र चीनको आन्तरिक प्रगति र विकासले पश्चिमामुलुकको उपस्थिति त्यसलाई निस्तेज पार्नका लागि नेपालमा बढिरहेकै छ । दुवै छिमेकी उदायमान शक्तिका रुपमा देखिनाले नेपाली भूमि कुटनीतिक चापमा धसिदो अवस्थामा छ । कुनै प्रयोजन विना पनि नेपालका नेता र कर्मचारीसँग जो कुनै विदेशीले सजिलै भेटघाट गर्दछ तर अन्यत्र यो सुविधा कतै छैन । यसका लागि कुटनीतिक मर्यादा एवं कानूनी प्रकृयाहरु पुरा गराउनु अनिवार्य हुन्छ । यसकारणले पनि नेपाली नेताहरु आयातित बुद्धिबाट चलेको अनुमान गरिन्छ । अर्को कुरा नेपालमा प्रान्तिय सरकार टिक्दैन । यसले चीनको आन्तरिक सुरक्षामा समेत प्रभाव पार्न सक्छ भन्ने ठम्याईमा चीन पुग्दै छ भन्ने हाबुझि फैलाएको छ । कोहिको बुझाईमा छिमेकीहरु एकले अर्कामा पराजित गर्न र आफ्ना अभिष्टहरु पुरा गराउन नेपाली भूमिलाई उर्वर ठान्दछन् र सोहि मुताविक दलका नेता परिचालित गर्दछन् पनि भनिन्छ । त्यसैले पश्चिमा राष्ट्रहरुको नजर नेपाली राजनीतिमा परेको विषय अस्वभाविक मानिदैन ।
अहिले एकाथरी हल्ला चलेको छ । जुन शक्तिको आडमा चुनावी तालमेल देखि पार्टी एकिकरणसम्मको हवाला दियो उसैले यसलाई तुहाईदिन्छ । यात अर्को कुनै बहानामा लत्याईनछ । कारण त्यस शक्तिले भारत या चीनमा विविध गतिविधि संचालन गर्ने योजना बनाई रहेको छ । बाहिरबाट हेर्दा चीन आफ्नै आन्तरिक सुरक्षा मजभूत बनाउन चाहान्छ भने भारत नेपालको सबै गतिविधिमा अघोषित अपस्थिति होस् भन्ने कामना गर्छ । यि विकल्प विहिन दुबै शक्तिको विच तरलतामा डुबेको नेपाली राजनीतिलाई ईयुले परिवर्तनको नाउँमा हस्तक्षेपकारी भूमिका खोजिरहेको छ । यसैको उदाहरण स्वरुप चीन र भारत दुबैको असहमति हुँदा हुँदै धर्म निरपेक्षताको सवाल उठाउन र कार्यान्वयनमा लैजान उसले ठुलो धनराशी खर्चीएको छ । संविधान जारी गर्दाको असहमतिमा मधेशी दलले गरेको आन्दोलनको दोष र नाकाबन्दी भारत प्रति लक्षित भयो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दीको प्रतिकार गर्दा जनताको नजरमा ओज बढ्यो साथै उनि राष्ट्रवादी नेता कहलिए । यो परिदृस्य तिनै आँखाका पर्दाबाट कदापि विलय भएको थिएन । परिणाम समयको पर्खाईमा धारिलो हतियार प्रयोग गर्ने मनसायबाट विचलन थिएन । उसैको इसारा अनुसारका गतिविधि चलाउने काम गर्न नेपालमा लोकतान्त्रिक शक्ति भन्दा वाम शक्ति बढी उर्वर र विश्वासनिय बन्दै गयो । यस विषयमा सत्यता देखियो भने यो भन्दा ठुलो राजनैतिक बेमानी नेपालको ईतिहासमा अर्को कुनै नहुन सक्छ । यसले नत नेपाललाई लाभ दिन्छ न छिमेकिको हितमा नै काम गर्छ । यदि यो हल्ला साँचो हो भने नेपालका सबै राजनीतिक दलहरु सचेत भै किमार्थ कसैको अभिष्ट पुरा गराउने कार्यमा प्रयोग नहुनु सर्बथा कल्याण हुने देखिन्छ । अर्को रणनीति यो पनि हुन सक्छ कि यि दुई छिमेकी विचको नजर लगाउने शक्तिले कहिले भारत परस्त त कहिले चीन परस्त भएर कुनै न कुनै गतिविधि नेपाली राजनीतिबाट गराउने चाहना राख्छ । यसको परिणाम जे जस्तो भए पनि उसका आकांक्षाहरु पुरा गराउन हर समय चलखेलका संभावनाहरु खोज्ने गर्दछ ।
अहिले नेपाली कांग्रेसको मानसपटल स्खलित छ, विचलित पनि छ । तर उसले विवेक गुमाएर हैन संयम रहेर काम गर्न सक्नु पर्छ न कि आवेशमा । साथै हिजो भनिए झै केपी ओली प्रधानमन्त्री बनेर देश हाक्ने, माधवकुमार नेपाल राष्ट्रपतिको भूमिकामा रहने र एकिकरण पश्चात बन्ने नयाँ पार्टीको नेतृत्व प्रचण्डले गर्ने विषयमा यि दलका नेताहरु चुके भने नेपाली आकाशमा अहिले जस्तो कदापि कम्युनिष्ट उदाउने संभावना छैन । जनताले उदारो राजनीति गर्ने नेतालाई अर्को चुनावमा अवस्य पाखा लगाउने छन् र आफ्ना अभिमतहरु अर्को कुनै नयाँ समुहलाई प्रदान गर्दा त्यसले देशमा अस्थिरता निम्त्याउछ र ठुलै आन्दोलनमा भासिने संभावना हुन्छ ।
प्रतिकृयाःkhanaluttam24@yahoo.com