कञ्चनपुर, ११ पुस ।
कृषि विभागका उपमहानिर्देशक सूर्यप्रसाद पौडेलले नयाँ संरचनामा (संघीयतामा) कृषि कार्यालयलाई कसरी समायोजन गर्ने भन्नेबारे जानकारी लिन जिल्लाका विभिन्न कार्यालयको अवलोकन गर्नुभएको छ ।
उपनिर्देशक पौडेलले कृषि विकास कार्यालय, प्लान्ट क्वारेन्टाइन कार्यालय, महेन्द्रनगरस्थित तरकारी बजार, क्षेत्रीय कृषि तालीम केन्द्र, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, क्षेत्रीय माटो परीक्षण प्रयोगशाला, बेलौरीस्थित कृषि सेवा केन्द्र र कैलालीको त्रिनगर भन्सार नजिकै रहेको प्लानट क्वारेन्टाइन कार्यालयको अवलोकन गर्नुभयो ।
अबलोकनपछि उहाँले सबै कार्यालयमा कर्मचारी अभाव लगायतका कारण स्थानीय तहमा समायोजन गरिएपछि कार्यालय सञ्चालन गर्न गाह्रो भएको पाईएको बताउनु भयो ।
कृृषि कार्यालयसँग असार महिनासम्मका लागि योजना र केही बजेट भएकाले तत्काल समायोजन हुने सम्भावना नरहेको उहाँको भनाइ थियो । मन्त्रालयबाट पत्र आउनासाथ कार्यालय समायोजन हुने उहाँले बताउनुभयो ।
प्लान्ट क्वारेन्टाईन कार्यालय गड्डाचौकीमा एकजना सुब्बा र एक जना अधिकृत, त्रिनगरमा एकजना प्राविधक सहायकको भरमा कार्यालय सञ्चालन तथा क्षेत्रीयस्तरका कृषि विभागअन्तर्गतका कार्यालयमा कर्मचारीले काज मिलाएर अन्य कार्यालयमा जाने प्रचलनका कारण कर्मचारी अभाव रहेको पाइएको उहाँले बताउनुभयो ।
कार्यालय समायोजनपछि सबै कार्यालयमा कर्मचारी पदपूर्ति पनि हुने उहाँले बताउनु भयो ।