काठमाडौं ,३ पुस ।
अनुमती बिनै सन्चालनमा आएको सुचनाका आधारमा आपूर्ति व्यवस्थापन विभागले ड्राइभिङ सेन्टरहरुमा अनुगमन सुरु गरेको छ ।
आज ललितपुर क्षेत्रमा अनुगमन गरी विभागले शंखमुलको रामेछाप भ्याली ड्राइभिङ इन्स्टिच्युटमा सिलबन्दी गरेको छ।
विभागले ड्राइभिङ सेन्टर अनुगमनका लागि दुईवटा टोली गठन गरी परिचालन गरेको छ । यसअघि टोलीले तीनकुने र भक्तपुरस्थित पाँचवटा ड्राइभिङ सेन्टरको अनुगमन गरी दुईवटामा सिलबन्दी गरेको अनुगमन विभागका अधिकृत रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
तीनकुनेस्थित एन्जल मोटर्स ड्राइभिङ सेन्टर र भक्तपुरको राधे राधे स्थित पर्फेक्ट भेहिकल एण्ड इन्टरप्राइजेजले अनुमतिपत्र नलिइ संचालन गरिरहेकाले ताला लगाइएको हो।
आपूर्ति विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार अनुमति नलिइ संचालनमा रहेका, दर्ता नभएका तथा मापदण्ड नपुगेका ड्राइभिङ सेन्टरहरुलाई विभागले सिलबन्दी गरी कारोबार बन्द गर्ने छ।
विभागले स्विकृती नलिएका ड्राइभिङ सेन्टर बन्द गर्ने तथा ड्राइभिङ सेन्टरको दर्ता खारेज गरी कानुनी कारवाही प्रकृया अघि बढाइने समेत महानिर्देशक दाहालले बतानुभयो ।
विभागले एकान्तकुना स्थित युटर्न ड्राइभिङ स्कुलमा सिलबन्दी गरेको छ। यसैगरी धोबीघाटस्थित मेगा ड्राइभिङ स्कुल र महालक्ष्मी ड्राइभिङ स्कुलले नविकरण नगरेको पाइएकाले कारोबार रोक्का गरेको विभागका अधिकृत श्री अधिकारीले जानकारी दिनुभयो ।