काठमाडौं, पुस १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा खोंचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाउनु भएको छ ।
भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको आरोप लगाउनु भएको हो ।
कांग्रेसले लोकतान्त्रिक मूल्य, मान्यता र जनताको अभिमतलाई अवमूल्यन र अस्वीकार गरेको भन्दै उहाँले असन्तुष्टी ब्यक्त गर्नुभयो । मर्या्दित पार्टीले अनुचित ब्याख्या गर्नु अशोभनीय हुने ओलीको तर्क छ ।
सरकार गठन गर्न राष्ट्रियसभा जरुरी नपर्ने तर्क गर्दै अध्यक्ष ओलीले निर्वाचन आयोग कसैको दबाबमा नभई संविधान र कानुनअनुसार चल्नुपर्ने बताउनु भयो ।
सरकारमा जान आफूहरुलाई कुनै हतारो नभएको भन्दैगर्दै उहाँले जनमतले नै कांग्रेसलाई राजीनामा गराइसकेको टिप्पणी गर्नुभयो ।