काठमाडौं ,मंसिर २९ ।
वाम गठबन्धनले सरकार गठन सम्बन्धमा भईरहेको कानूनी बहसप्रति आपत्ति जनाएको छ ।
सरकार निर्माण पहिला कि राष्ट्रिय सभा गठन, भन्ने बिषयमा कांग्रेस तथा एमाले–माओवादी केन्द्रका नेता र कानुन व्यवसायीले संवैधानिक व्यवस्थाबारे आफु अनुकुल व्याख्या गरेको भन्दै गठबन्धनले आपत्ति जनाएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच निर्वाचन पछि पहिलो पटक आज दिउँसो भएको भेटवार्ताले सरकार गठनका लागि कुनै कानूनी व्यवधान नरहेको निष्कर्ष निकालेको हो ।
सरकार गठन, भावी राजनीतिक रणनीति तथा पार्टी एकता सम्बन्धमा केन्द्रित छलफलपछि दुवै अध्यक्षले कामचलाउको अवस्थामा पुगेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई कुनै औपचारिक निर्णय नगर्न सचेत गराएका हुन् ।
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा स्पष्ट बहुमत प्राप्त वाम गठबन्धनले सरकारले पछिल्लो समय गरेका निर्णयप्रति आपत्ति जनाउँदै बैठकले दूरगामी असर हुनेगरीका कुनै पनि निर्णय भए नयाँ सरकारले खारेज गर्ने चेतावनी दिएको छ ।