२६ मंसिर,काठमाडौं । चुनावमा नेपाली काँग्रेसको हारको जिम्मा पार्टी सभापति शेरबहादुर देउवाले नलिने संकेत गरेका छन् ।
काँग्रेस नेता-कार्यकर्ताका साथै समर्थक र शुभचिन्तकले पार्टीको हारको जिम्मा लिएर सभापति देउवाले राजिनामा गर्न अावाज उठारहेको बेला उक्त संकेत गरेका हुन् ।
सभापति देउवाका विश्वास पात्र बालकृष्ण खाँडले चुनावको परिणामकै कारण पार्टी नेतृत्व परिवर्तन नहुने बताएका छन् । मंगलबार काठमाडौंको एक कार्यक्रममा बोल्दै खाँणले पार्टीको हारको जिम्मा पार्टी सभापतिले मात्रै नभएर सबै नेताहरुले लिनु पर्ने बताए ।
केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिको संयोजक समेत रहेका नेता खाँणले पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिँदैमा केही नहुने बताए । उनले नेता गगन थापाले दिएको अभिव्यक्तिको अालोचना गर्दै राजिनामा नदिए हस्तक्षेप गर्छु भन्ने अधिकार कसैलाई नभएको दाबी गरे । ‘अहिले कसैले पार्टी सभापतिबिरुद्ध अभिव्यक्ति दिँदैमा केही हुनेवाला छैन, पार्टी नेतृत्व परिवर्तन भएन भने हस्तक्षेप गर्छु भनेको पनि सुनियो, तर यस्तो भन्ने नैतिक अधिकार उहाँलाई पनि छैन’ खाँणले भने । उनले कसैले भन्दैमा नेतृत्व परिवर्तन नहुने ठोकुवा समेत गरे ।
नेता खाँणले पार्टीले निर्वाचनमा भोगेको पराजय अस्वभाविक भएको भन्दै हारको सबैले जिम्मेवारी लिनुपर्ने बताए ।