चुनाव खारेजी अभियान हस्तक्षेपकारी र प्रभावकारी रुपमा सफल भएको निश्कर्ष निकाल्दै नेपाल कम्युनिष्ट पार्टीले एकीकृत जनक्रान्तिको दिशामा निरन्तर अगाडि बढ्ने उद्घोष गरेको छ ।
नेपाली जनतामाथि भइरहेको शोषण, उत्पीडन र अत्याचार र नेपालको समृद्धि संसदीय व्यवस्थाबाट समाधान नहुने बताउँदै नेकपाले जनताको मुक्ति नहुँदासम्म एकीकृत जनक्रान्ति दिशामा निरन्तर अगाडि बढ्ने जनाएको हो ।
नेकपाका पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव)ले आज बिज्ञप्ती जारी गरी अभियानका क्रममा प्रहरीले धरपकड गरी गिरफ्तार गरिएका पार्टी पोलिटब्युरो सदस्य वीरजंग र केन्द्रिय सदस्य सुमन सहितका सबै नेता कार्यकर्तालाई बिनासर्त तत्काल रिहाईको माग पनि गर्नुभएको छ ।
विज्ञप्तीमा भनिएको छ, “दलाल पुँजीवादी, संसदवादी, आत्मसमर्पणवादी तत्वहरुले हामीलाई जति नै दमन गर्न खोजुन् । हाम्रो विरुद्ध भ्रमको खेती गरुन् र समाप्त गर्न खोजुन् अन्तिम विनास क्रान्तिकारी शक्तिको होइन प्रतिक्रियावादी शिविर कै हुनेछ । अन्त्यमा प्रतिक्रियावादी संसदीय व्यवस्थाको चुनाव खारेज अभियानलाई एकीकृत जनक्रान्तिको दिशामा निरन्तर अगाडि बढाउन विशेष आग्रह गर्दछौं ।”
विप्लवले अहिले नेपालमा दुई विश्वदृष्टिकोण, दुई सत्ता र दुई सरकारको अवस्था रहेको जानकारी गराउदैँ पुरानो संसदीय सत्तालाई नयाँसत्ताले विस्थापित गरे विस्तार र सुदृढ हुने पनि बताउनु भएको छ ।
प्रतिक्रान्तिकारी संसदीय चुनाव खारेज अभियानमा रहेको अवस्थामा पार्टीप्रति राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमानै भ्रम र पूर्वाग्रह राखेको देखिएको भन्दै विप्लवले चुनाव खारेज अभियान सच्चा लोकतन्त्र र मताधिकारका लागि भएको स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभएको छ , यो खारेज अभियान शान्ति प्रक्रियालाई धोकापूर्ण तरिकाले दलाल पुँजीवादी संसदीय व्यवस्था पुनस्र्थापना गर्ने र त्यसको आयु लम्ब्याउने गद्दारी विरुद्ध विद्रोह र प्रतिरोध हो ।