काठमाडौँ, २१ मंसिर । आज सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ ।
निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको छ । आयोग मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्न सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार छिटफुट घटनाबाहेक सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
उहाँले भन्नुभयो, “नेपालको संविधान कार्यान्वयन गर्र्ने क्रममा दोस्रो चरणमा आज ४५ जिल्लामा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाताको उत्साहजनक, व्यापक सहभागिता र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी सहर्ष रूपमा गराउन चाहन्छु ।”
निर्वाचनबाट संविधान कार्यान्वयन र सङ्क्रमणकालको अन्त्यका लागि महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्दै आयोगले बढ्दो चिसोको समेत वास्ता नगरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गतायुक्तलगायत मतदाताले उत्साहजनक रुपमा मतदान गरेकामा सबै मतदातालाई धन्यवाद दिएको छ ।
नेपाली मतदाताले मतपत्रका माध्यमबाट व्यक्त गरेको मतादेशलाई सहज रूपमा स्वीकार्न आयोगले सबै राजनीतिक दल तथा उम्मेदवारसँग आयोगले गर्दै भनेको छ, “निर्वाचन प्रचारप्रसारमा दलहरूबीच देखिएको सौहार्दता मतगणनापछि हुने हार र जीतको परिणामपछि पनि प्रकट गर्न सबै राजनीतिक दल तथा उम्मेदवार प्रतिबद्ध रहेको विश्वास आयोगले लिएको छ ।
मतदान सम्पन्न भएलगत्तै आज सबैै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने कामसमेत शुरू भइसकेको छ । संकलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने डा यादवले जानकारी दिनुभयो ।
मतपेटिका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रकासात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान भएको हो । दुवै मतदानमा कुल एक करोड २२ लाख ३५ हजार ९९३ मतदाता थिए ।
दु्ई केन्द्रमा मतदान स्थगित
अर्घाखाँची, सन्धिखर्क नगरपालिका – ५ मथुरा निमावि नेटा मतदानस्थलका (क) र (ख) गरी दुई मतदान केन्द्रको मतदान आज स्थगन भएको छ । मतदान केन्द्र (ख) का मतदान अधिकृतले मतपत्रमा सही नगरेको भनी राजनीतिक दलका कार्यकर्ताबाट एउटा मतपेटिका तोडफोड गरी फालेको र बाँकी मतपत्र च्यातेकाले उक्त मतदान केन्द्रको मतदान स्थगन भएको जनाउँदै आयोगले सो मतदान केन्द्रमा केही दिनभित्रै पुनःमतदान गर्ने व्यवस्था मिलाइने छ ।
दोस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै यही मंसिर १० गते पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आजैदेखि सुरु भएको छ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान भएको थियो । दोस्रो चरणको मतदानपछि सम्बन्धित जिल्लाको सदरमुकाममा मतपेटिका प्राप्त भइसकेपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले आवश्यक तयारी पूरा गरी आजै(बिहीबार) राति वा शुक्रबार बिहानसम्ममा मतगणना शुरु हुने जनाइएको छ ।
सात प्रदेश र ७७ जिल्लामा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न सफल भएकामा सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सबै राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी सबैलाई आयोगले धन्यवाद दिएको छ ।
निर्वाचनका लागि सरकारले गरेको सुरक्षा प्रबन्ध प्रभावकारी रहेका कारण निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको आयोगको निष्कर्ष छ । डा यादवले भन्नुभयो, “निर्वाचनलाई सफल पार्न अहम् भूमिका खेल्नुहुने सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र दलका कार्यकर्ताले देखाउनुभएको सहयोग, सद्भाव र मैत्रीपूर्ण व्यवहार, समझदारी र सकारात्मक सहभागिताप्रति आयोग आभार प्रकट गर्दछ ।”
दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानलाई सफल बनाउन र विभिन्न ठाउँबाट प्रत्यक्ष प्रसारणमार्फत मतदातालाई सुसूचित पार्ने कार्यमा सञ्चारकर्मीले पु¥याएको योगदानको आयोगले उच्च प्रशंसा गर्दै मतदानको समाचार सङ्कलन र सम्प्रेषणमा सञ्चारकर्मीले देखाएको जाँगर, उत्साह र लगनशीलताको आयोगले कदर गरेको छ ।
सो अवसरमा आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदाताको सहभागितामा निर्वाचन सम्पन्न भएको हुनाले आजको दिनलाई सफलता र खुशीयालीको दिनमा स्मरण गरिने बताउनुभयो ।