पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएका छन् ।
अहिले मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य सुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी प्राप्त भएको छ ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेकाअनुसार कुल ९ हजार ४२७ मतदाता रहेको मुस्ताङमा ६ हजार ७१४ मत खसेको थियो ।
त्यसैगरी, कुल पाँच हजार ८८१ मतदाता रहेको मनाङमा चार हजार ३३८ मतदाताले मतदान गरेका थिए ।
बैतडीमा ७६ हजार ३४३ मत खसेको थियो । करिब ८० प्रतिशत मत खसेको बताइएको बाजुरामा ५२ हजार ९४५ मतको गणना गर्नुपर्नेछ ।
यसैबीच
निर्वाचन आयोगले आज मतदान भएका अधिकांश जिल्लाको मतगणना शुक्रबारबाट मात्र सुरु हुने जनाएको छ । आयोगका अनुसार निर्वाचन क्षेत्रका सबै मतपेटिका गणनास्थलमा आइसकेमा र राजनीतिक सहमति जुटेमा भने आजै मतगणना सुरु हुनेछ ।
आयोगका प्रवक्ता नवराज ढकालले आज मतदान भएका ठाउँको मतपेटिकाहरु गणना सेन्टरमा आइसकेपछि मात्रै गणना सुरु हने जानकारी दिनुभयो ।
आयोगले यसपटक प्रत्यक्षतर्फको ४ दिनभित्र र समानुपातिकको मतगणना आठ दिनभित्र सक्ने लक्ष्य लिएको छ । यसका लागि प्राविधिक र व्यवस्थापकीय तयारी गरिएको तर राजनीतिक सहमति र सहयोग आवश्यक पर्ने प्रवक्ता ढकालले बताउनु भयो ।
आयोगले गणनाका क्रममा मतदाताहरुको मतको सुरक्षा गर्ने सम्पूर्ण जिम्मेवारी मुख्य निर्वाचन अधिकृतको रहेको बताएको छ । अधिकांश गणनास्थलमा सीसीटिभी राख्नुका साथै तारजालीले बारिएको छ ।
केही जिल्लाका निर्वाचनका अधिकृतहरुले भने सीसीटीभी आवश्यक नपर्ने आयोगमा जानकारी गराएको प्रवक्ता ढकालले बताउनुभयो ।