काठमाडौं, मंसिर २१ ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरण निर्वाचनअन्तर्गत ४५ जिल्लामा आज मतदान सम्पन्न भएको छ।
राजधानीसहित देशका पहाडी तथा तराईका ३८४ निर्वाचन क्षेत्रमा मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
विहान ७ बजेबाट सुरु भएको मतदानको समय साँझ ५ बजेसम्म भएको थियो । ढिला गरी निर्वाचन सुरु भएका कतिपय मतदान स्थलहरुमा मतदान भईरहेको आयोगले जनाएको छ । अहिले मतदान सकिएका मतकेन्द्रहरुबाट मतपेटिका संकलनको कार्य भईरहेको जनाईएको छ ।
दोस्रो चरणको निर्वाचनमा करिब ५७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका सात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भएको छ ।
प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ ।