काठमाडौं, मंसिर २१ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनसँगै मुलुक नयाँ अध्यायमा प्रवेश गरेको बताउनु भएको छ ।
भरतपुर– १४ स्थित शान्तिपुर आधारभूत विद्यालयमा विहान मतदान गरेपछि अध्यक्ष दाहाले यस्तो बताउनु भएको हो । दाहालले आफ्नै गृहजिल्लामा मतदान गर्न पाउँदा आफूलाई हर्ष र खुसीको महसुस भएको बताउनु भयो ।
उहाँले मुलुकमा ‘समृद्धि र विकासको यात्रा सुरु भएको बताउँदै राजनीतिक स्थायित्वको यात्रा पनि आरम्भ भएको बताउनु भयो । सरकार ५ वर्ष नटिकेर विकास हुन नपाएको उल्लेख गर्दै उनले यस चुनावमा कुनै एक गठबन्धनको बहुमत आउने विश्वास व्यक्त गर्नू भयो ।
मुलुक संघीयताबाट पछि फर्कन नसक्ने बताउँदै दाहालले स्थायी सरकार दिन सके संघीयता कार्यान्वयन चुनौतिपूर्ण नभएको उल्लेख गर्नू भयो । पार्टी एकता गर्ने संकल्पसहित वाम तालमेल भएको उल्लेख गर्दै उहाँले निर्वाचनपछि पार्टी एकता हुने विश्वास व्यक्त गर्नु भयो ।