सामाजिक सद्भाव कायम गर्दै विद्यार्थी

सामाजिक सद्भाव कायम गर्दै विद्यार्थी

  • बुधबार, मंसिर २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

कञ्चनपुर, २० मंसिर । जातीय संकुचित भावना हटेपछि पुनर्वास नगरपालिका अमरबस्तीमा रहेको राष्ट्रिय माविमा पढ्दै आएका विद्यार्थीबीच मैत्री भावनाको विकास भएको छ ।

सामाजिक विभेदका कारण कक्षा कोठामा एकै ठाउँमा बस्न नरुचाउने विद्यार्थी हाल मिलेर बस्न थालेका छन् । छात्राको बेञ्चमा छात्रले संकुचित भावनाका कारण बस्न रुचाउने गरेका थिएनन् । “एक जातिको विद्यार्थी अर्को जातिको विद्यार्थीसँग मिलेर बस्दैनथे”, विद्यालयका प्रअ नवराज पाण्डेयले भन्नुभयो, “हाल सबै विद्यार्थी एक आपसमा मिलेर बस्न थालेका छन् ।”

कक्षामा पढाएका विषयवस्तुबारे नबुझेका कुरा विषय शिक्षकसँगै विद्यार्थी एकापसमा छलफल गरी जानकारी लिने गरेका छन् । विद्यार्थीमा एकै पटक यसरी परिवर्तन भने आएको होइन । विद्यार्थीबीच मैत्री भावनाको विकास गराउनका लागि स्वीट नेपाल नामक संस्थाको प्रयासले सम्भव बनाएको हो ।

युएनडिपीको सहयोगमा स्वीट नेपालले सञ्चालन गरेको ‘समाजमा सद्भाव अभिवृद्धिका लागि सामाजिक परिचालन’ कार्यक्रमले विद्यालयमा सामाजिक सद्भाव बढाउनका लागि माध्यमिक तहका विद्यार्थीबीच अन्तक्र्रिया, छलफल वक्तत्वकला र बैठकका माध्यमबाट मैत्री भावना अभिवृद्धि गर्न मद्दत गरेको छ ।

विद्यार्थीमा कार्यक्रम सञ्चालनअघि किताबी ज्ञान मात्रै थियो । ती बाह्य ज्ञानका कुराबारे जानकार थिएनन् । कार्यक्रम सञ्चालन भएपछि समाजमा मिलेर बस्नुपर्छ, सुखदुःखमा एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावना पलाएको छ ।

सहयोगी भावनाका साथ अगाडि बढ्नुपर्छ भन्ने ज्ञान विद्यार्थीेले पाएको प्रअ पाण्डेयले बताउनुभयो । पहिला विद्यालयमा विभेद ५० प्रतिशतको हाराहारीमा रहेकामा हाल कार्यक्रम सञ्चालनपछि घटेर २० प्रतिशतमा झरेको उहाँको भनाइ छ । कार्यक्रमका माध्यमले विद्यार्थीमा नेतृत्व गर्ने सीप बढेको, हिचकिचाहट हटेको र बोल्ने क्षमतामा विकास भएको छ ।

विद्यालयमा सामाजिक सद्भाव बढाउने कार्यक्रममा विद्यार्थीलाई प्रोत्साहनस्वरुप पुरस्कार दिन थालेपछि सहभागी हुनुपर्छ, किताबी ज्ञानबाहेक बाह्य ज्ञान लिनु पनि उत्तिकै जरुरी रहेछ भन्ने भावनाको समेत विकास भएको छ । विद्यालयमा तामाङ, मगर, नेवार, गुरुङ, दलित, ब्राह्णण, क्षेत्री, राना थारु, चौधरी थारुलगायत समुदायका बालबालिका पढ्ने गरेका छन् ।

विभिन्न समुदायका विद्यार्थी भए पनि समाजमा सबैले मिलेर बस्नुपर्छ भन्ने भावना सबैमा देखिएको छ । विद्यार्थीले विद्यालयमा सिकेका कुरा परिवार र गाउँघरमा समेत सिकाउन थालेका छन् । समाजमा सद्भाव र शान्तिलाई विद्यार्थीले अभिभावकका बीचमा फैलाउने काम गरेका छन् । एकार्कालाई दुःखसुखमा साथ दिनुपर्छ, चाडपर्वसँगै मिलेर मनाउनुपर्छ, विवाह, व्रतबन्ध र मलामी जाँदा एकले अर्कालाई साथ दिनुपर्छ भन्ने भावना विद्यार्थीेले परिवार र समाजलाई सिकाउने गरेका छन् ।

जातजातिबीचको खाडल पुर्ने काम विद्यालयमा पढ्ने विद्यार्थीले गरेका छन् । कार्यक्रमका माध्यमले समाजमा सद्भाव बढेपछि ब्राह्मणले मगरसंँग, तामाङले थारुसँग, थारुले मगरसँग र क्षेत्रीले तामाङसँग लगनगाँठो कस्न थालेका छन् । स्थानीय अभिभावक भन्छन्, “टुटेको समाजलाई जोड्ने कार्य विद्यालयमा पढ्ने बालबालिकाका कारण सम्भव हुन थालेको छ ।”

विद्यालयमा पढाउँदै आएका शिक्षकहरू पनि बाह्य रुपमा एकापसमा मिलेर काम गर्दैआएका भए पनि उनीहरूबीच समेत भावनात्मक सम्बन्ध गहिरो थिएन । विद्यार्थीबीचको मैत्री भावनाले शिक्षकलाई सोच्न बाध्य बनाई नजिक्याएको छ । कार्यक्रमलाई परिमार्जन गरी अझै परिष्कृत रुपमा अगाडि बढाउनुपर्ने शिक्षकको सुझाव छ ।

विद्यालयमा सात सय ७९ छात्रछात्रामध्ये २५० दलित, २५० जनजाति र बाँकी अन्य समुदायका विद्यार्थी पठनपाठन गर्र्दै आएका छन् । विसं २०३४ मा स्थापित विद्यालयमा १४ शिक्षकले पठनपाठन गराउँदै आउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी