काठमाडौं, मंसिर २० । पहिलो चरणमा मंसिर १० गते सम्पन्न भएको निर्वाचनको मतगणना भोली (बिहीबार) साँझ ५ बजेबाट थालिंने भएको छ ।
यसका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा मतदान गरिएको थियो ।
दोस्रो चरणको निर्वाचन नगर्दासम्म गणना गर्न प्राविधिक कठिनाई हुने भएपछि आयोगले मतपेटिका भने उच्च सुरक्षा घेराभित्र राखेको छ ।
गणनामा कुनै गडबडी हुन नदिन निर्वाचन कार्यालय मतगणना स्थलमा तारजाली लगाउनेदेखि उम्मेदवारका प्रतिनिधिहरुलाई निगरानी गर्नेसम्मका सबै तयारी गरिएको छ ।
यस क्रममा दलका प्रतिनिधिले मतपत्र छुनसम्म नपाउने र मतगणक र दलका प्रतिनिधिबीच तारबार, जालीका साथ निश्चित दूरी राखिने छ ।
गणनास्थलमा प्रवेश पाउनेले पनि मोबाइल, लाइटर, सलाई, एसिड जस्ता प्रज्वलनशील र घातक सामग्री लैजान प्रतिबन्ध लगाईएको छ ।
प्रत्यक्षतर्फको चार र समानुपातिकको आठ दिनमा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरेको आयोगले जनाएको छ ।
प्रतिनिधि र प्रदेश सभा सदस्य प्रत्यक्षतर्फको मत गणना पहिले गर्ने र परिणाम सार्वजनिक भएपछि मात्र समानुपातिकको गणना गर्ने जनाएको छ ।
पहिलो चरणको मत गणना बिहीबार बेलुकीबाटै थालिएपनि दोस्रो चरणको मतगणना भने सबै मतपेटिका सदरमुकाममा संकलन गर्ने्वित्तिकै थालिने आयोगले जनाएको छ ।
थोरै मतदाता रहेको निर्वाचन क्षेत्रको परिणाम २४ घण्टाभित्र आउने तथा धेरै मतदाता भएको क्षेत्रको मत गन्न थप जनशक्ति खटाइने आयोगले जनाएको छ ।