काठमाण्डौ , १५ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन दक्षिणपन्थी भएको आरोप लगाउनुभएको छ । झापाको दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र नै नबुझेको पार्टीको गठबन्धनलाई लोकतान्त्रिक नभनिदिन आग्रह समेत गर्नुभयो ।
मुलुकमा अहिले वामपन्थी लोकतान्त्रिक र दक्षिणपन्थी गठबन्धन चुनावी मैदानमा रहेको टिप्पणी गर्दै अध्यक्ष ओलीले बाम गठबन्धनबाहेक अर्को कुनै पक्ष लोकतान्त्रिक हुनै नसक्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सञ्चारकर्मी साथीहरुलाई शब्द चयनमा ध्यान दिन मेरो अनुरोध छ । लोकतान्त्रिक नभएको पार्टीको गठबन्धन कसरी लोकतान्त्रिक भयो ?’ कांग्रेसको गठबन्धन लोकतान्त्रिक नभएर दक्षिणपन्थी भएको आरोप लगाउदै अध्यक्ष ओलीले दक्षिणपन्थी गठबन्धन बनेकोमा आफूहरुले छाती नपिटेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उनीहरु सबै मिले हुन्छ । भोलि हामीलाई जरैदेखि उखेलेर फाल्न सजिलो हुन्छ ।’ ओलीले जथाभावी निर्णय नगर्न पनि शेरबहादुर देउवा सरकारलाई सचेत गराउनुभयो । कांग्रेस सभापति देउवा भुलचुकमा प्रधानमन्त्री बनेको टिप्पणी गर्दै उहाँले संविधान संशोधनको सपना नदेख्न देउवालाई सुझाउनु भयो ।