नेमकिपाको किल्ला भत्काउने गठबन्धनको योजना : नारायणमान बिजुक्छेले दिए यस्तो चेतावनी

नेमकिपाको किल्ला भत्काउने गठबन्धनको योजना : नारायणमान बिजुक्छेले दिए यस्तो चेतावनी

  • शुक्रबार, मंसिर १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

भक्तपुर, मंसिर १५ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले यसपटकको निर्वाचनमा उम्मेदवारी नदिएपछि चर्चामा पुगेको भक्तपुर क्षेत्र नम्बर–१ मा नेमकिपाको किल्ला भत्काउने कसरतमा गठबन्धन लागेका छन् ।

बलियो आधार किल्लाकारुपमा रहेको नेमकिपालाई आगामी २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा परास्त गर्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन ठूलै कसरतमा जुटेका छन् ।

२०४८ सालदेखिको संसदीय एवं संविधानसभा निर्वाचनमा भारी मतान्तरका साथ नेमकिपाले विजयी हासिल गर्दै आएको यस क्षेत्रमा यसपटकको निर्वाचनमा भने दुवै गठबन्धनले नेमकिपालाई परास्त गर्ने उद्घोष गरेका छन् ।

यस क्षेत्रमा नेमकिपा एक्लैले उम्मेदवारी दिएको छ भने लोकतान्त्रिक गठबन्धनमा कांग्रेसले राप्रपा प्रजातान्त्रिकसँग र वाम गठबन्धनमा माओवादी केन्द्रले एमालेको साथ लिएर प्रतिस्पर्धामा उत्रिएको छ ।

क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका बाबुराजा जोशीले नेमकिपाले २०४८ सालदेखि एकछत्र राज गरेर बनाएको किल्ला यसपल्टको निर्वाचनमा भत्किने दाबी गरे ।

जोशीले भने–‘नेमकिपाले भक्तपुर नगरपालिकाभन्दा बाहिर आफ्नो क्षेत्र देख्दै–देखेन, पर्यटकसँग उठाएको करोडौं रकमले नगरभित्रको पर्यटकीय क्षेत्रमामात्रै विकास गरेको छ, क्षेत्र नम्बर–१ का अरु क्षेत्रमा केही नगरेकाले त्यहाँका जनताको भोट यसपल्ट कांग्रेसलाई आउँछ, यसपल्ट कांग्रेसले बिजुक्छेजीको किल्ला ढाल्छ ।’

क्षेत्र नम्बर–१ अन्तर्गत् पर्ने ताथली, सुडाल, बागेश्वरी, नगरकोट, छालिङ, चाँगु, दुवाकोट, झौखेलसँगै भक्तपुर नगरपालिकाभित्रका पनि धेरै ठाउँलाई नेमकिपाले फर्केर पनि नहेरेको उनको आरोप छ ।

उनले नगरकोटदेखि चाँगुनारायणसम्मलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने र राष्ट्रिय बजेट ल्याएर यस क्षेत्रको विकासमा लाग्ने अठोटका साथ आफूले उम्मेदवारी दिएको बताए ।

वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका माओवादी केन्द्रका मिलन सुवालको पनि उस्तै आरोप छ ।

सुवालले भने–‘यस क्षेत्रमा वर्षौंदेखि नेमकिपाले आफ्नो वर्चस्व कायम गर्दै आएको छ, तथापि जनताको भावनाअनुसार काम गर्न नसकेकाले नेमकिपालाई २१ गतेको निर्वाचनमा जनताले मतबाटै परास्त गरेर वाम गठबन्धनलाई विजयी गराउनेछन् ।’

उनले वाम गठबन्धनले संयुक्त प्रतिबद्धतापत्र जारी गर्दै व्यवस्थित सडक, गाउँगाउँमा यातायातको पहुँच, व्यवस्थित सहर निर्माण, समृद्ध भक्तपुरको निर्माण, निःशुल्क शिक्षा, स्वास्थ्य, युवा रोजगारी, गाउँगाउँमा उद्योग, पर्यटनको विकास, खानेपानी, ढल, प्रत्येक नगरमा सुविधा सम्पन्न अस्पताल स्थापनाको एजेन्डा लिएर आएको बताउँदै जनताको चाहना पूरा गर्न वाम गठबन्धनले विजयी हासिल गर्ने दाबी गरे ।

तर, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले आफ्नो पार्टीसँग कसैले प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरे ।

उनले आफूले उम्मेदवारी दिनु र पार्टीले अरुलाई उम्मेदवारी बनाउनुमा कुनै फरक नपर्ने बताउँदै नेमकिपाको मत नघट्ने बताए ।

नेमकिपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका प्रेम सुवालले नेमकिपाको कोहीसँग प्रतिस्पर्धा नभएको जिकिर गर्दै नेमकिपालाई कसैले परास्त गर्न नसक्ने दाबी गरे ।

‘लोकतान्त्रिक र वाम गठबन्धन सत्ताका लागिमात्र राजनीति गर्ने भनेर जनताले चिनिसकेका छन्’–उनले भने–‘जनताको पक्षमा उभिने दल नेमकिपालाई जनताले मत दिएर विजय गराउँछन् ।’

देशमा प्रजातन्त्र आएदेखि कांग्रेस, एमाले र माओवादीले आलोपालो सरकार चलाएपनि भक्तपुरको विकास गर्न नसकेको बताउँदै सुवालले भने–‘नेमकिपाले भक्तपुरमा गरेको विकासजस्तै अरु दलले पनि विकास गरेको भए देश धेरै समृद्ध भइसक्थ्यो, नेमकिपाले सांसद कोषबाट ल्याएको बजेट गाउँगाउँको विकासमा लगाएको छ ।’

गरिब, किसान जनता र देशको पक्षमा आवाज उठाउने दल भएकाले जनताले यसपटक पनि नेमकिपालाई भारी मतको अन्तरले विजयी गराउने उनको भनाइ छ ।

स्थानीय निर्वाचनको मतलाई विश्लेषण गर्दा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पनि भक्तपुरमा वाम गठबन्धन, नेपाल मजदुर किसान पार्टी र लोकतान्त्रिक गठबन्धनबीच नै तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।

भक्तपुरमा दुईओटा प्रतिनिधिसभा क्षेत्र र चारओटा प्रदेशसभा क्षेत्र छन् ।

स्थानीय निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर–१ मा ६६ हजार ८१० मत खसेको थियो । त्यसमध्ये क्षेत्र नम्बर–१ मा मजदुर किसान पार्टीले ३० हजार १७२, लोकतान्त्रिक गठबन्धनले १९ हजार ५३६ र वाम गठबन्धनले १६ हजार ५६९ मत पाएका थिए ।

भक्तपुर र चाँगुनारायण नगरपालिका १ नम्बर क्षेत्रमा पर्छन् भने मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका २ नम्बर क्षेत्रमा पर्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ