चितवन, १५ मंसिर ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा नै ठूलो तरंग पैदा भएको बताउनु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–६ गीतानगरमा आज आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक तरंग आएको बताउनुभयो ।
जनयुद्ध शुरु गर्दा पनि यति ठूलो तरंग राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा नआएको उहाँको भनाई थियो ।
अध्यक्ष प्रचण्डले एकातिर कम्युनिष्ट तानाशाही आउँछ भन्ने अर्कोतर्फ कम्युनिष्ट एकता हुदैन ,चुनावपछि भाँडभैलो हुन्छ भनेर प्रचार गर्ने दोहोरो चरित्र काग्रेसकै केहि ब्यात्तिले गरिरहेको पनि आरोप लगाउनु भयो ।
अहिलेको काँग्रेस बिपीको समाजवाद र गिरिजाप्रसादको गणतन्त्रको लाइनबाट विक्षिप्त भएको दाहालको भनाइ थियो ।
राष्ट्र, राष्ट्रियता र स्वाधिनताको मुद्दामा भोलि पनि काँग्रेससँग सहकार्य हुनसक्ने भन्दै दाहालले भन्नुभयो– “यति धेरै गाली नगर्नुहोस, भोलि पनि मिल्नुपर्छ, त्यसबेला हात मिलाउन पनि लाज लाग्ने नहोस् ।”
भोलि देशमा अलकादवादी, विखण्डनवादी धार आयोभने काँग्रेससँग मिलेर लड्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “काँग्रेस पनि देश टुक्रियोस् भन्ने चाहनुहुन्न, त्यतिबेला राष्ट्रको एकता र स्वाधीनताका लागि लड्नुपर्छ ।”
चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका दाहालले राजनीतिक अनैतिकताको एउटा प्रवृत्तिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।