१४ मंसिर,काठमाडौँ । चुनावपछि बन्ने नयाँ सरकारमा फेरि पनि जनताले नचुनेका वा गैरसांसद पनि मन्त्री बन्न पाउने भएका छन् ।
नेपालको संविधान–२०७२ ले नै गैरसांसद मन्त्री बन्न पाउने व्यवस्था गरेको छ । तर चुनावमा हारेका व्यक्तिहरु भने मन्त्री बन्न नसक्ने बताइएको छ ।
प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र नयाँ सरकार गठन गरिसक्नु पर्ने संवैधानिक प्रावधान छ ।
संविधानको धारा ७८ मा लेखिएको छ, ‘धारा ७६ को उपधारा (९) मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ ।’
त्यसैगरी सोही धारामा ‘उपधारा (१) बमोजिम नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले छ महीनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नु पर्नेछ’ पनि लेखिएको छ ।
त्यसरी नियुक्त भएका व्यक्तिले ६ महिनाभित्र सांसद बन्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधि सभाको कार्यकालभर उक्त व्यक्ति पुनः नियुक्तिको लागि योग्य नहुने समेत संविधानमा व्यवस्था गरिएको छ ।