काठमाडौँ, १३ मंसिर ।
पहिलो चरणमा मंसिर १० गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने कार्य सम्पन्न भएको छ ।
कूल दुई हजार ९१७ मतदानस्थलका सबै मतपेटिका आज सम्बन्धित जिल्लाको सदरमुकाममा पु¥याएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
डोल्पाका से–फोक्सुण्डो र थार्का ताङसोङ्का मतदानस्थलका मतपेटिका आज हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो ।
दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतगणना कार्य शुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
यसैबीच दोस्रो चरणमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । आवश्यक निर्वाचन सामाग्री ४५ वटै जिल्लामा पठाइसकिएको प्रवक्ता ढकालले बताउनुभयो ।
यस्तै आयोगले आचारसंहिताको पालना कडाईका साथ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । राजनीतिक दलका उम्मेदवारले निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसार गरेको भन्दै आयोगले पालनामा कडाई गरेको हो ।