काठमाडौं मंसिर १३ ।
निर्वाचन आयोगले हिमाली जिल्ला डोल्पाको मात्र मतपेटिका संकलन गर्न बाँकी रहेको जनाएको छ ।
डोल्पाका ९ स्थान बाहेक अन्य निर्वाचन भएका ३१ जिल्लाको मतपेटिका संकलन कार्य सकिएको आयोगले जनाएको छ ।
हिजै मतपेटिका संकलन कार्य सक्ने भनिए पनि मौसम प्रतिकुलताका कारण नसकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पाको मतपेटिका आज साँझ सम्ममा सदरमुकाम ल्याउने तयारी छ ।
मतपेटिका संकलन गरेर सुरक्षित स्थानमा सिल गरेर राखिएको आयोगले जनाएको छ । पहिलो चरणमा मंसीर १० गते पहाडि र हिमाली ३२ जिल्लामा प्रदेश र प्रतिनिधसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो ।
यसैबीच मंसीर २१ गते दोस्रो चरणमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । आवश्यक निर्वाचन सामाग्री ४५ वटै जिल्लामा पठाइसकिएको प्रवक्ता ढकालले बताउनुभयो ।
यस्तै आयोगले आचारसंहिताको पालना कडाईका साथ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । राजनीतिक दलका उम्मेदवारले निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसार गरेको भन्दै आयोगले पालनामा कडाई गरेको हो ।