नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले बरिष्ठ बाम गठबन्धनका नेताहरुको हत्या गरेर चुनाव रोक्ने षडयन्त्र भइरहेको आरोप लगाउनु भएकाे छ ।
उहाँले विदेशीको षडयन्त्रमा प्रतिगामीहरुले बरिष्ठ नेताहरुको हत्या गरेर चुनाव रोक्ने षडयन्त्र गरिरहेको आरोप लगाउदै भन्नुभयाे ,’बम विष्फोट गराइरहेका छन्, सार्प सुटरहरु लगाएर मार्ने कोशिष भइरहेको छ, यहाँ बरिष्ठ बाम गठबन्धनका नेताहरुको हत्या गरेर चुनाव रोक्ने षडयन्त्र भइरहेको छ ।’ उहाँले जतिसुकै विष्फोट वा हत्या गर्ने षडयन्त्र गरेपनि नेपाली जनताले त्यसलाई परास्त गर्ने उद्घोष गर्नुभयाे ।
नेता बादलले पुँजीवादीहरुले कयौं गरीबहरुको गर्भैमा हत्या गर्नेगरेको आरोप लगाए । बाम गठबन्धनलाई अधिनायकवादी देख्ने र रुन पनि पाईंदैन भन्ने पुँजीवादीहरुले गर्भैमा हत्या गरिरहेको भन्दै भन्नुभयाे,’बामपन्थीहरुले वा कम्युनिष्टहरुको सरकार आयो भने अधिनायकवाद आउँछ भन्दै हल्ला गर्दैछन्, रुनपनि पाईंदैन भन्दैछन्, तर सत्य के हो भने ति पुँजीवादीहरुले हरेक दिन उपचार गर्न नपाएर, खान नपाएर, आराम गर्न नपाएर गरीबका गर्भैमा हत्या गरिरहेका छन् ।
अहिले पुँजीवादी सरकार हुँदा तस्कर, भ्रष्टाचारी र केहि दलालहरु मात्र खुशी र हाँस्न पाएको बताउँदै उनले बामपन्थीको सरकार आएपछि गरीब जनताले हाँस्न, नाच्न, रमाउन र खान पाउने बताए । उनले २५ वर्षभित्रमा बामपन्थी सरकारले नेपाललाई संसारकै सबैभन्दा समृद्ध, विकशित र धनी बनाउने दाबी गरे ।
बादलले एमाले र माओवादी केन्द्र मिलेपछि कांग्रेसले मानसिक सन्तुलन गुमाएर बर्बराउने गरेको टिप्पणी गर्नुभयाे ।