काठमाडौं, मंसिर ८।
निर्वाचन आयोगले पहिलो चरणमा पर्सी आइतबार मतदान हुने निर्वाचन क्षेत्रमा आज र भोली मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ ।
आयोगले स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा गएको भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकालाई मतदाता परिचयपत्र वितरण गर्न लागिएको जनाएको छ ।
यस्तै गत भदौ ५ गते १८ वर्ष पूरा गरेका एंव नामावली सार्न र सच्याउन निवेदन दिएकाले पनि आज र भोली मतदाता परिचयपत्र लिन सक्नेछन् । स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र लिइसकेकाले भने त्यहि परिचयपत्रको आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।
परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाट लिन सकिनेछ । मतदाता परिचयपत्र लिन आफैं जानु पर्ने तर जान नसकने अवस्थामा घरको परिवारको सदस्य भएको यकिन गरी परिवारका सदस्यलाई परिचयपत्र दिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।