७ मंसिर,जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)ले ढिला गरी आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । विहीबार महोत्तरीको जलेश्वरमा एक कार्यक्रमको आयोजना गरेर राजपाले तराई–मधेसलाई अलग्गै राष्ट्र बनाउने आशयसहितको घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रको प्रस्तावनामै नेपाल बहुराष्ट्रिय देश हुनुपर्ने उल्लेख छ । ‘एक राज्य एक राष्ट्र’ हुनैपर्छ भन्ने धारणा आर्दशवादी भएपनि सधै व्यावहारिक नहुने समेत घोषणापत्रमा उल्लेख छ । यसको आशय तराई–मधेस अलग्गै राज्य हुनुपर्छ भन्ने नै हो ।
त्यसैगरी घोषणापत्रमा अरु दलहरुले झै राजपाले पनि विकास निर्माणका ठूलो आवश्वासन बाँडेको छ । महिलाको लागि हरेक उच्च शिक्षा निःशूल्क गर्ने, हरेक नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविष्यको लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा १० हजार रुपैयाँ अनुदान दिने उल्लेख छ । उक्त अनुदान दिर्घकालिन मुद्धती खाता खोली बैंकमा जम्मा गर्ने समेत बताइएको छ ।
त्यस्तै कम्तीमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो वरावरको रकम प्रदान गर्ने समेत राजपाले प्रतिबद्धता जनाएको छ ।
मधेस, थरुहट आन्दोलन र अन्य आन्दोलनहरुमा आफ्नो ज्यानको आहूति दिने शहीद परिवारको उचित हेरचाह, घाईते र अंगभंग भएकाहरुको उपचार र रोजगारीको व्यवस्था गर्ने राजपा नेपालको प्रतिबद्धता जाहेर समेत गरेको छ ।