काठमाडौ ७ मंसिर ।
आगामी आइतबार पहिलो चरणमा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज मध्यरातिबाट मौन अवाधि सुरु हुदैछ ।
पहिलो चरणमा चुनाव हुने ३२ वटा जिल्लामा आज राति १२ बजेदेखि मौन अवाधि सुरु हुने निर्वाचन आयोगका प्रवक्त नवराज ढकालले जानकारी दिनुभयो ।
मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, नेता कार्यकर्ता, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले चुनावी प्रचारप्रसार गर्न र संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटर, भाइवरजस्ता सामाजिक सञ्जाल मार्फत पनि भोट माग्न र निर्वाचनको प्रचारप्रसार गर्न नपाइने प्रवक्ता ढकालले बताउनु भयो ।
दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा भने चुनावी प्रचार प्रसार गर्न पाइनेछ । यसैबीच आजदेखि मतदान केन्द्रको व्यवस्थापनको काम समेत सुरु गरिने आयोगले जनाएको छ ।
सरकारले पहिलो चरणको निर्वाचनका लागि करिब ४५ हजार कर्मचारी र ८० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । चुनावका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तीन घेरामा सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते मतदान हुँदैछ ।
प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटका लागि हुने पहिलो चरणको चुनावमा ३१ लाख ९१ हजार ९ सय ४५ जना मतदाता रहेको निर्वाचन अयोगले जनाएको छ ।