काठमाडौँ, ३० कात्तिक ।
नेकपा (एमाले)का नेता माधवकुमार नेपालले सरकारको स्थिरता हुन नसक्दा देशमा पूर्वाधार निर्माण तथा विकासका कार्यले गति लिन नसकेको बताउनु भएको छ ।
नेकपा (एमाले) कागेश्वरी मनहरा नगरपालिका–४ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले मुलुकमा सरकारको स्थायित्व कायम गरी देशलाई गरिबीको चक्रबाट बाहिर निकाल्न वाम गठबन्धनलाई जनताले जिताउनुपर्ने बताउनुभएको छ ।
अहिलेको चुनावी प्रणालीमा राजनीतिक दललाई बहुमत प्राप्त गर्न कठिन रहेको बताउँदै नेता नेपालले देशलाई अस्थिरताबाट निकास दिन वामपन्थी विचार मिल्ने दलले गठबन्धन गरेको उल्लेख गर्नुभयो ।
काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता नेपालले मुलुकमा गठबन्धन निर्माण भएपछि नेपाली काँग्रेस अत्तालिएको र गठबन्धनको सरकार निर्माण भएमा अधिनायकवादको उदय हुने भनेर भ्रम फैलाउन लागेकामा त्यस्तो तथ्यहीन तर्कका पछाडि नलाग्न आग्रह गर्नुभयो ।