काठमाण्डौ , २९ कार्तिक ।
आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन हुने ३२ जिल्लाको सुरक्षा व्यवस्था अत्यन्त मजबुत पारिएको गृह मन्त्रालयले जनाएको छ ।
कतिपय स्थानमा निर्वाचन बिथोल्ने खालका गतिबिधि भएपनि सुरक्षा अपस्था पुर्णरुपमा नियन्त्रणमा रहेको मन्त्रालयको दावी छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्माले निर्वाचनका लागी मजबुत सुरक्षा आधार तयार पारिएको जानकारी गराउनदै उम्मेदवार र मतदान केन्द्रको सुरक्षामा कुनै कसर बाँकी नराखेको दावी गर्नुभयो ।
उहाँले पछिल्लो समय उम्मेदवारमाथि आक्रमणका घटना बढीरहेकोले त्यसलाई मध्यनजर गर्दै मन्त्रालयले सुक्ष्म रुपमा सुरक्षा टोली परिचालन गरेको पनि बताउनु भयो ।
यस्ता कार्यमा संलग्नमाथी कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको भन्दै प्रवक्ता शर्माले त्रुटिरहित मतदान सम्पन्न गर्न सुरक्षा निकाय सक्षम रहेको जिकिर गर्नुभयो ।
हरेक जिल्लामा उम्मेदवारको सुरक्षा अवस्था विश्लेषण गरी उनीहरुको सुरक्षामा विशेष ध्यान दिन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको शर्माको भनाई छ ।
उहाँले निर्वाचनका लागि तीन तहको सुरक्षा प्रबन्ध मिलाईएको भन्दै मतदातालाई ढुक्क भएर निर्वाचनमा भोट खसाल्ने अवस्था सृजना गर्न सुरक्षा निकाय लागि परेको उल्लेख गर्नुभयो ।