रुपन्देही, कात्तिक २८ ।
नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाडले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेशी शक्तिबर्धक औषधी खाएर नबरबराउन सुझाव दिनुभएको छ ।
पाँच नम्बर प्रदेशस्तरीय मिडिया सेन्टरको आज बुटवलमा उद्घाटन गर्दै उहाँले एमाले अध्यक्ष ओलीको बर्बराहटसँगै नागरिकमा छरेका भ्रम नेपाल र नेपालीका लागि उल्टो पर्न जाने बताउनु भयो ।
उहाँले नेपाली नागरिकले अधिनायकवाद र निरंकुशतालाई सधैँ परास्त गरिरहेको बताउँदै नेपालमा कम्युनिष्ट अधिनायकवादको स्थापना गर्ने ओली–प्रचण्डको सपनालाई मंसिर १० र २१ गते हुने चुनावले चकनाचुर बनाउने दावी गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री तथा रुपन्दही क्षेत्र नं ३ का उम्मेदवार दिपक बोहोराले नेपाली नागरिकले बनाएको लोकतान्त्रिक संविधानलाई उल्टाउन कम्युनिष्ट गठबन्धन बनेको बताउँदै लोकतान्त्रिक गठबन्धनको पक्षमा नागरिकले साथ दिने बताउनुभयो ।