२४ कात्तिक,भद्रपुर । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कृष्णप्रसाद सिटौलाले जिल्ला सबैभन्दा धेरै विकास निर्माण कामहरु आफूले गरेको दाबी गरेका छन् । उनले दोस्रो संविधानसभा निर्वाचित भएपछि १ अर्ब भन्दाबढीको विकास योजना आफूले पारेको बताए ।
शुक्रबार झापाको भद्रपुरमा पत्रकारहरुसँग कुरा गर्दै नेता सिटौलाले पहिलो संविधान सभाले संविधान जारी गर्न नसक्दा शान्तिप्रकृया अलपत्र परेपछि दोस्रो संविधानसभा निर्वाचनमा जनतासँग परिवर्तनलाई संस्थागत गर्ने प्रतिबद्धता गरेर गएको बताए ।
नेता सिटौलाले २०६२-०६३ को लोकतान्त्रिक गणतन्त्रको परिवर्तन रोक्न सुरज विश्वास र राजन गिरीलाई गोली हान्नेहरु परिवर्तकामी झापाली जनताका प्रतिनिधि बन्न अयोग्य भएको बताए । उनले संघीयता र लोकतान्त्रिक गणतन्त्र अस्वीकार गरिरहेको राप्रपालाई एमाले र माओवादीले उम्मेद्वार बनाएकोमा आफू अचम्मित भएको बताउँदै दुवै पार्टीले २०४६ सालको जनआन्दोलनका पहिलो सहिद राम थापाको बलिदानलाई अवमूल्यन गरेको दाबी गरे ।
सिटौलाले आफू परिवर्तनको लडाइँमा अविचलित भएर निरन्तर लागेको स्पष्ट पार्दै शान्ति र सम्बृद्धिको सपना पूरा गर्न नेपाली कांग्रेसको विजय अपरिहार्य रहेको बताए ।
झापाको सदरमुकाम समेत रहेको क्षेत्र नम्वर ३ नेपालको राजनीतिक परिवर्तनको उद्गम भएको उल्लेख गर्दैै सिटौलाले अग्रगमनका पक्षधर झापाली जनता राजनीतिक परिवर्तनलाई उल्ट्याउनेहरुको पक्षमा जान नसक्ने बताए ।
झापाको क्षेत्र नं ३ मा एमाले र माओवादीको गठवन्धनले उम्मेद्वार उठाएको छैन् ।