जनकपुरधाम, २२ कात्तिक ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनका क्रममा कुनै पनि पक्षबाट हस्तक्षेप हुन नदिई सुरक्षित तवरले निर्वाचन सम्पन्न गराउने कार्यप्रति सुरक्षा संयन्त्र गम्भीर हुन निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयद्धारा जनकपुरमा आयोजित २ नं प्रदेश सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मतदान गर्ने कार्यमा कुनै पनि हस्तक्षेप हुन नदिन निर्देशन दिएको हो ।
उहाँले जनताले निर्बाध रूपमा निर्वाचनमा मतदान गर्ने वातावरण निर्माणका लागि चाहिने आवश्यकताको परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई जोखिममा पु¥याउने कुनै पनि गतिविधि हुन नदिन सबै सजग हुनु जरूरी रहेकोमा जोड दिनुभयो ।
निर्वाचन आयुक्त सुधीरकुमार शाहले विगतमा सुरक्षाको कमजोरीले नभई राजनीतिक दलको अस्वस्थ प्रतिस्पर्धाले केही घटना घटेको भन्दै अझ प्रभावकारी एकीकृत सुरक्षा योजना तयार गरिएको जानकारी दिनुभयो ।
नियतवश कतिपय स्थानमा निर्वाचन अधिकृतले निर्वाचनको स्वच्छतामाथि प्रश्नचिह्न लाग्ने गतिविधि गरेकाप्रति यसपटक निर्वाचन आयोगले गम्भीरतापूर्वक लिएको पनि उहाँले बताउनुभयो ।
गृहसचिव मोहनकृष्ण सापकोटा र सहसचिव नारायणप्रसाद शर्माले संघीयता कार्यान्वयन दिशामा निर्वाचन कोशेढुङ्गा साबित हुने धारणा राख्नुभयो ।