२० कात्तिक,गोरखा । नयाँ शक्तिका संयोजक डा. बाबुराम भटराईलाई भोट नदिने नेपाली काँग्रेसका जिल्ला नेताहरुले घोषणा गरेका छन् ।
गोरखा २ मा डा. भट्टराईलाई सघाउने केन्द्रले निर्णय गरेपनि कांग्रेसका जिल्ला नेता–कार्यकर्ता सन्तुष्ट छैनन् । उनीहरुले आफ्नो मत माओवादी पृष्ठभूमीबाट आएका भट्टराईलाई दिन नसक्ने बताउँदै चन्द्रप्रसाद न्यौपाने अभियान चलाएका छन् ।
काँग्रेस नेता न्यौपाने पत्रकार सम्मेलनको आयोजना गरेरै डा. भट्टराईलाई भोट नदिन आह्वान गरेका छन् । यसअघि पहिलो संविधान सभा निर्वाचनमा भट्टराईका प्रतिस्पर्धी हुन् । उनी नाताले डा. भट्टराईका मामा समेत हुन् ।
न्यौपाने ०५४ को स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट गोरखा जिल्ला विकास समितिको सभापति समेत निर्वाचित भएका थिए । न्यौपानेले जनयुद्धमा ‘माओवादी पीडित’हरुको नेतृत्व गर्दै माओवादीविरुद्ध लागेका थिए ।
काँग्रेस नेता न्यौपानेले पार्टी नेतृत्वले भट्टराईको उम्मेदवारीलाई समर्थन गरेर पार्टीमाथि ठूलो घात गरिएको आरोप लगाए । काँग्रेस बीपी, गणेशमानले देखाएको बाटोमा हिड्न नसकेको उतको तर्क छ ।
“नयाँ शक्तिसँग तालमेलको निर्णयले कांग्रेसका निष्ठावान कार्यकर्तामाथि ठूलो घात भएको छ’ द्वन्द्वकालमा पीडित कांग्रेस कार्यकर्ताहरुको तर्फबाट गरिएको पत्रकार सम्मेलनमा न्यौपानेले भने, ‘शेरबहादुर देउवाले भन्दैमा हामी बाबुराम भट्टराईलाई भोट दिँदैनौँ ।’निष्ठावान कार्यकर्ताले कांग्रेसलाई मात्र मत दिने बताउँदै न्यौपानेले आफूहरुले गोरखा–२ मा प्रत्यक्षतर्फको मतपत्र खालि राख्ने बताए ।
“प्रतिनिधि सभामा मत दिन न रुख छ, न कांग्रेसको कुनै उम्मेदवार । देउवाले भन्दैमा हामी बाबुरामलाई मत दिन सक्दैनौँ” न्यौपानेले भने ।
पत्रकार सम्मेलनमा गोरखा-२ मा २० जना कांग्रेस समर्थकको हत्या भएको बताउँदै न्यौपानेले काँग्रेस कार्यकर्ताहरुको हत्यामा भट्टराईपनि जिम्मेवार रहेको आरोप लगाए ।
चुनावको मुखमा बाबुरामलाई लगाइएको यो अारोपले काँग्रेसी मतदातालाई प्रभावित गर्ने देखिन्छ । काँग्रेसी मतदाताको भर परेका बाबुरामको लागि ठूलो झट्का हो ।