चितवन, २० कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध राष्ट्र बनाउनुबाहेक वाम गठबन्धनको अरु कुनै लक्ष्य नरहेको स्पष्ट पार्नुभएको छ ।
वाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी जिल्ला शाखाले आज चितवनमा अयोजना गरेको कार्यकर्र्ता प्रशिक्षणमा उहाँले नयाँ केन्द्र निर्माण गरेर समृद्ध राष्ट्र बनाउने लक्षका साथ वाम गठबन्धन बनाएको बताउनुभयो ।
अहिलेको अभियान भनेकै राष्ट्रिय एकता र मलुकलाई समृद्ध बनाउनु रहेकाले वस्तुस्थिति र राष्ट्रको आवश्यकताबमोजिम नै वाम एकता भएको औंल्याउँदै उहाँले अहिले देशमा उत्साह र उमंगको लहर छाएको दाबी गर्नुभयो ।
चितवन निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका अध्यक्ष दाहालले देश र राष्ट्रको चिन्ता भएका, अरु पार्टी काँग्रेस, राप्रपालगायतका कार्यकर्ताले समेत यो गठबन्धनलाई सकारात्मकरूपमा हेरेको उल्लेख गर्नुभयो ।
नौलो क्रान्तिका लागि दुई पार्टी एक हुने प्रयास गरिएको भन्दै उहाँले दुई तिहाई बहुमत ल्याएर ८–१० वर्षको अन्तरालमा नेपाली मोडलको समाजवाद ल्याउने जिकिर गर्नुभयो ।
दुवै पार्टी कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष दाहालले यो लक्ष्य पूरा गर्न गुठ र समूह नभनी लाग्न आग्रह गर्नुभयो । वस्तुस्थिति र राष्ट्रको आवश्यकताले वाम एकता सही समयमा भएको बताउँदै उहाँले चितवनका सबै सिटमा वाम गठबन्धनले जितेर नमूना जिल्ला बनाउन सबै कार्यकर्ताले अठोट गर्नुपर्नेमा जोड दिनुभयो ।
वाम गठबन्धन चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा एमाले नेता सुरेन्द्र पाण्डेले आर्थिक समृद्धि र स्थायी शान्तिका लागि पनि वाम गठबन्धन भएको बताउनुभयो ।
वाम गठबन्धनको चितवन जिल्ला निर्वाचन परिचालक कमिटी संयोजक अमिक शेरचनको अध्यक्षतामा भएको थियो ।