भक्तपुर,१९ कार्तिक । जिल्लामा एमाले-माओवादी केन्द्रबीचको चुनावी गठबन्धन संकटमा परेको छ । एमालेले बागी उम्मेदवार फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले गठबन्धन टुटेको घोषणा गरेको छ ।
भक्तपुर क्षेत्र नं १ को प्रदेश (क) मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र एमालेसँग आगो भएको छ । उसले भक्तपुरमा एमालेसँगको गठबन्धन अब कार्यान्वयन नहुने समेत बताएको छ ।
एमालेले आधिकारिक पत्र पठाएर जिल्ला सचिव हरिशरण लामिछानेको उम्मेदवारी दर्ता गरेको हो। उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुरको चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्र रहेका छन् भने समर्थकमा साविक चाँगुनारायण गाविसका पूर्वअध्यक्ष एवं एमाले जिल्ला नेता मोहनवीर श्रेष्ठ रहेका छन्।
माओवादी केन्द्रले आफ्ना बागी उम्मेदवारलाई फिर्ता गराएपनि एमालेले भने फिर्ता गराएन । माओवादी केन्द्रका देवीप्रसाद ढकालले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि एमालेका महेश बस्नेत, उक्त क्षेत्रका क र ख दुईटै प्रदेशमा एमालेकै क्रमशः शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठको उम्मेदवारी दर्ता गरिएको थियो।
एमाले-माकेबीच केन्द्रमा क्षेत्र नं १ का तीनै उम्मेदवारले माओवादी केन्द्र र क्षेत्र नं २ मा एमालेको निर्वाचन चिह्न लिएर चुनाव लड्ने सहमति भएको थियो ।