१९ कात्तिक,सल्यान । माओवादी केन्द्रका विद्रोही उम्मेदवारले प्रचार अभियान सुरु गरेका छन् । एमाले–माओवादी केन्द्रबीचको चुनावी तालमेलाई चुनौती दिँदै संघ र प्रदेश दुबैमा दर्ता गरिएको उम्मेदवारी फिर्ता भएन ।
आफ्नै पार्टीका पोलिट्ब्युरो सदस्य तथा विना विभागिय मन्त्री टेकबहादुर बस्नेतविरुद्ध र एमालेका नेता प्रकाश ज्वाला, गुलावजंग शाहविरुद्ध बागी उम्मेदवारी दर्ता गरिएको छ ।
नेता बस्नेत प्रतिनिधि सभा सदस्यको लागि एमाले-माकेका साँझा उम्मेदवार हुन् भने एमाले नेता ज्वाला प्रदेशसभाको लागि (ख) र शाह (क) बाट उम्मेदवारी दिएका छन् ।
माओवादी केन्द्रका नेता बस्नेतका विरुद्ध पार्टीकै अर्का पोलिट्ब्यूरो सदस्य तथा संस्थापक नेता उमाकान्त शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यसैगरी एमाले नेता ज्वालाका विरुद्ध माओवादी केन्द्रका पूराना नेता पूर्व जिल्ला इन्चार्ज भीमप्रकाश शर्मा र शाहविरुद्ध पूर्व जनमुक्ति सेनाका कमाण्डर जीतबहादुर पुनले बागी उम्मेदवारी दिएका छन् । उनीहरुले प्रचारलाई तीब्र पारेका छन् ।
जिल्ला पार्टीकै निर्णयअनुसार तीनै जनाले उम्मेदवारी दर्ता गराएका हुन् । नेता बस्नेतले केन्द्रमा चाकरी चाप्लुसी गरेर जिल्ला पार्टीको निर्णयलाई समेत बाइपास गरेका कारण आफूहरुले उम्मेदवारी दिएको जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी ‘छाहारी’ ले बताए ।
जिल्ला पार्टीकै निर्णय गरेर संघ र प्रदेशमा उम्मेदवारी दर्ता गराएको कारण स्थानीय नेता-कार्यकर्ताहरु पनि बागी उम्मेदवारको प्रचारमा हिडेका छन् । तीनै जना बागी उम्मेदवारले मतदातासँग भेटघाट गर्दै मतमाग्न सुरु गरेका छन् ।
पहिलो चरणमा सहिद परिवार, दोस्रो चरणमा जनयुद्धमा दुःख गरेका जनता, तेस्रो चरणमा कार्यकर्ता घरपरिवार-स्थानीय पार्टी र चौथो चरणमा अाम मतदातासँग भेटघाटको कार्यक्रम तय भएको बागी उम्मेदवार भीमप्रकाश शर्माले अनलाइन डबलीलाई बताए । उनीहरुको प्रचारले एमाले-माके दुबै पार्टीलाई जिल्लामा हैरानी भएको छ ।