१९ कात्तिक,बटवल । राष्ट्रिय युवा जनस्वयंसेवक रुपन्देही संगठनमा महेन्द्र टण्डन संयोजक चयन भएको छ । युवा संगठन नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन हो ।
बुटवलमा सम्पन्न तेस्रो सम्मेलनले टण्डनको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सम्मेलनको प्रमुख आतिथि नेकपाका स्थायी समिति सदस्य एवं जनसरकार प्रमुख सन्तोष बुढा मगर रहेका थिए ।
प्रमुख अतिथि बुढा मगरले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्न हल गर्न युवाहरुको भूमिका अनिवार्य रहेको बताउँदै देशभित्रका भ्रष्टाचारी, दलाल संसदीय पुँजीवादी व्यवस्थालाई समुल नष्ट गर्न युवा शक्ति परिचालित हुनुको विकल्प नरहेको बताए ।
एकीकृत जनक्रान्तिको दुश्मन दलाल संसदीय व्यवस्था अगाडि आएमा प्रतिवाद गर्न युवाहरु तयार भएमात्र राष्ट्रिय स्वाधिनताको रक्षा सम्भव हुने बताए । स्वाधिनताको रक्षा संसदीय चुनाव खारेज गर्नुपर्ने बताउँदै प्रचण्डलाई वैज्ञानिक समाजवादको बाटो छोडेर संसदवादमा लागेपनि जनताले नछाड्ने बताए ।
नेकपाका पोलिटव्युरो सदस्य एवं लुम्बिनी व्युरो इन्चार्ज वीरजंगले संसदीय व्यवस्थाले युवाहरुलाई आधुनिक दास बनाएर विदेशी भूमिका बिक्री गर्ने वस्तुको दर्जामा राखेको भन्दै आक्रोश व्यक्त गरे । ‘युवाहरु संसदीय व्यवस्थाको दास भएर अपमानित जिन्दगी जिउँनुभन्दा क्रान्तिमा सहयोगी बनेर प्रचण्ड–बाबुरामले फसाएको क्रान्तिलाई पूरा गर्नु युवाको पहिलो जिम्मेवारी हो’ भने । सहिद, बेपत्ता र जनताको सपना बेचेर खाने दिने प्रचण्ड–बावुरामलाई जनसत्ताले कारबाही गर्ने चेतावनी दिए ।
राता टिसर्टमा युुवाहरु जुलुससहित सडकमा तैनाथपछि सम्मेलन हलमा पुगेका थिए । संयोजक टण्डनले दलाल संसदीय व्यवस्था र तिनका संरक्षक भ्रष्टचारी र विचौलियालाई तह लगाउन युवा शक्तिलाई परिचालित हुने बताए । सम्मेलन शनिबार भएको हो ।पछिल्लो समय नेकपाको निशानामा माओवादी केन्द्र र त्यसका नेताहरु सहित नयाँ शत्तिका संयोजक बाबुराम भट्टराई पर्दै गएका छन् ।

