चितवन, कात्तिक १८ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थीर सरकारका लागि आगामी निर्वाचनमा वाम गठबन्धनले जित्नैपर्नेमा जोड दिनुभएको छ ।
चितवनको भरतपुरमा आज राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनालगायतका ३१ नेता–कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै उहाँले सो कुरा बताउनु भएके हो ।
स्थीर सरकार वाम गठबन्धनलेमात्र दिनसक्ने उहाँको जिकिर छ ।
पाँच वर्षका लागि स्थीर सरकार बन्यो भने देशको मुहार फेरिने उहाँको धारणा छ ।
जिल्ला अध्यक्षसहितको टोलीलाई नै माओवादीले भित्र्याएपछि प्रतिनिधिसभा सदस्यतर्फ चितवन क्षेत्र नम्बर–३ मा दाहाललाई हराउने आकांक्षासहित सोही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेलाई भने समस्या थपिएको छ ।
यसअघि, राप्रपा नेपालको जिल्ला अध्यक्ष रहेका तिमिल्सिना भरतपुर महानगरपालिकामा मेयरमासमेत प्रतिस्पर्धी रहेका थिए ।