हेटौँडा, १८ कात्तिक ।
उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले संबिधान कार्यान्वयन तथा मुलुकमा प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन आगामी मंसिरमा हुने निर्वाचनलाई सफल बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
हेटौँडामा आयोजित राप्रपाको दुईदिने प्रशिक्षण प्रशिक्षक कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन निर्वाचन नै प्रमुख माध्यम रहेको बताउनु भयो ।
उहाँले राष्ट्रमा राजनीतिक परिवर्तन भए पनि जनताले आर्थिक समृद्धि, मौलिक हकको प्रत्याभूति र आर्थिक आत्मनिर्भर महसुस गर्न नसकेकाले अहिलेको निर्वाचन अपरिहार्य भएको बताउनु भयो ।
कार्यक्रममा राप्रपाका केन्द्रीय प्रशिक्षण संयोजक भुवन पाठकले राष्ट्रको स्वतन्त्रता, संसदीय प्रजातन्त्रको सुदृढीकरणका साथै जनताको आर्थिकस्तर माथि उठाउन र पार्टीको नीति सिद्धान्तलाई जनताको घरदैलोमा पु¥याउन पार्टीले निर्वाचनका क्रममा पार्टीका केन्द्रीय पदाधिकारी, जिल्लाका पदाधिकारीलाई प्रशिक्षण दिन लागेको बताउनुभयो ।
दुई दिनसम्म चल्ने उक्त प्रशिक्षणमा प्रदेश नं १, २ र ३ का जिल्लास्तरका अध्यक्ष, सचिव, कोषाध्यक्ष र केन्द्रीय पदाधिकारी गरी २५५ जनाको सहभागिता रहेको प्रशिक्षण आयोजक समितिले जनाएको छ ।