काठमाडौँ, १६ कात्तिक ।
निर्वाचन आयोगले दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनकोे प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।
आयोगले साझ पत्रकार सम्मेलन गरी प्रतिनिधि सभातर्फ ५२२ र प्रदेश सभा सदस्यतर्फ ८८३ को उम्मेदवारी परेको प्रारम्भिक सूचना प्राप्त भएको जानकारी गराएको छ ।
दोस्रो चरणअन्तर्गत ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ २५६ निर्वाचन क्षेत्रका लागि आज बिहान १० देखि साझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।
उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा शुरुमा स्वतन्त्र उम्मेदवारले र मध्याह्नपछि धेरैजसो राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।
पत्रकार स्म्मेलनमा निर्वाचन आयुक्त सुधीरकुमार शाहले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयनसँगै संघीय संसद् र प्रदेश सभा निर्माण हुने प्रक्रिया सुनिश्चित भएको बताउनुभयो ।
निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार, सम्बन्धित निर्वाचन कार्यालयबाट आज नै उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशित गरेको छ ।
निर्वाचन आयोगका अनुसार, आज मनोनयन दर्ता भएको उम्मेदवारीको विरोधमा कात्तिक १७ गते उजुरी दिन सकिने र कात्तिक १८ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
यसैगरी, कात्तिक १९ गते उम्मेदवारले नाम फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गरेपछि औपचारिकरूपमा चुनावी प्रचारप्रसारको अवधि शुरू हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता भएपछि सबै उम्मेदवारलाई निर्वाचन आचारसंहिता लागू हुने भएकाले निर्वाचन आचारसंहितको पूर्ण पालना हुने विश्वास लिएको आयोगले जनाएको छ ।