१६ कात्तिक काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बालकृष्ण ढुंगेललाई रिहा गर्न माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेको छ ।
नेकपाले सरकारले जनयुद्धकालीन मुद्दालाई षडयन्त्रपूर्वक उछालेर गणतन्त्रको लागि लडेका योद्धा ढुंगेललाई जेल हालेको भन्दै राजधानीको शान्तिबाटिकाबाट विरोध प्रदर्शन गरेको हो ।
ढुंगेल जनयुद्धकालीन नेता हुन् । प्रदर्शनपछि विरोधसभामा बोल्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का अध्यक्ष बन्धु चन्दले ढुंगेललाई बिनासर्त तत्काल रिहा गर्न माग गर्नुभयो । ढुङगेललाई रिहा नगरिए जनयुद्धकालमा जनताको आन्दोलनलाई दमन गरेर १२ हजारभन्दा बढी नागरिकको हत्या गर्ने तत्कालीन कांग्रेस र एमालेका शासकलाई जनताको अदालतमा उभ्याउने चेतावनी अध्यक्ष चन्दले दिनुभयो ।
जनताको अदालतले शेरबहादुर देउवालाई नछाड्ने उहाँको चेतावनी छ । ‘जाली गणतन्त्रले बालकृष्ण ढुंगेललाई जेल हालेको छ । अब जनताको अदालतले देउवालाई छिट्टै कठघरामा उभ्याउनेछ’ अध्यक्ष चन्दले भन्नुभयो ।
दलाल संसदीय व्यवस्थालाई जरैदेखि उखेलेर फ्याँक्नुको विकल्प नरहेको बताउँदै सम्पूर्ण देशभक्त र राष्ट्रवादी एकजुट हुन उहाँले अपिल गर्नुभयो ।
सभामा अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेले थुप्रै बालकृष्णहरु बाहिर रहेको र गिरफ्तार बालकृष्ण ढुंगेललाई तुरुन्त रिहा नगरे देउवालाई जनअदालतमा उभ्याउने चेतावनी दिनुभयो । नेकपाले देशमा जनताको संविधान लागू गरिसकेको अवस्थामा जनयुद्धकालीन मुद्दामा गणतन्त्र ल्याउने योद्धाहरुलाई जेल हाल्ने मूर्खता गर्न छाडेर सम्पूर्ण मुद्ध खारेज गरेर जनतासँग हातेमालो सरकारसँग गर्न आग्रह गर्नुभयो ।
पार्टीको जनवर्गीय संगठन र सयौं नागरिकको सहभागितामा आयोजित विरोध र्यालीको नेतृत्व नेकपाका नेता एवं पोलिट ब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले गर्नुभएको थियो ।
र्याली शान्तिबाटिकाबाट जमल, घण्टाघर हुँदै पुनः शान्तिबाटिका पुगेर विरोध सभामा परिणत भएको थियो । ढुंगेललाई जनयुद्धकालीन समय २०५५ सालमा ओखलढुंगा पोखलीका भुवन श्रेष्ठ ‘उज्जनकुमार’को हत्या अभियोगमा मंगलबार देउवा सरकारले पक्राउ जेल हालेको छ ।