ताप्लेजुङ, १६ कात्तिक ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम गठवन्धनबाट आत्तिएर नेपाली कांग्रेसले दक्षिणपन्थी अधिनायकवाद लादन खोजेको आरोप लगाउनु भएको छ ।
प्रेस चौतारी नेपालले आज विहान ताप्लेजुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले प्रचार विभाग प्रमुख समेत रहेका सचिव भट्टराईले नेपालमा वाम एकता भएपछि कांग्रेसले आत्तिएर विदेशीलाई गुहारेको बताउनु भयो ।
अहिलेको आवश्यकता र देशलाई विकासको गतिमा लैजान वाम एकता गरेको भए पनि त्यसलाई गलत अर्थ लगाउँदै कांग्रेस लगायतका केहि शक्तिहरुले भारत, अमेरिका लगायतमा देशमा प्रचार गरी नेपालमा दक्षिणपन्थी अधिनायकवादलाई पुनः भित्राउन खोजेको दावी गर्नु भयो ।
तर जस्तो प्रचार गरे पनि ती देशहरुले नेपालका कम्युनिस्ट पार्टीलाई राम्ररी बुझेकाले वाम गठबन्धनलाई कुनै असर नपर्ने भट्टराईको भनाई छ । वाम गठवन्धनलाई टुटाउन अनेकौं प्रयत्न भइरहेको भन्दै उहाँले चुनावी तालमेल मात्रै नभई पार्टी एकीकरणको बाटोमा अघि बढिसकेकाले पुनः पछि नफर्कनेमा विस्वस्थ रहन समेत मतदातालाई आग्रह गर्नु भयो ।
प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा वाम गठवन्धनले दुई तिहाइ बहुमत ल्याएर सरकार बनाउने घोषणा गर्दै उहाँले चुनावमा लडाएर नभई दौडिएर जित्ने दावी समेत गर्नुभयो । कांग्रेसले घोषणा पत्रदेखि प्रत्येक कार्यक्रममा वाम गठबन्धनको आलोचना गरे पनि त्यसको असर उसले नै चुकाउनुपर्नेमा सचेत रहन चेतावनी समेत दिनुभयो ।